त्यसैबखत जाइफललाललाई नयाँ नियम फुर्यो– जाइफललालको सामाजिक सञ्जाल बगैँचामा राता पानपत्ता मात्रै फुल्छ
अरू कुरा त्यस्तै हो । भइ नै राख्छन् । जाइफललाललाई खाने वेलामा जिस्क्याएको मन पर्दैन ।
अरू अवस्था सामान्य अवस्था हुन् । भइ नै राख्छन् । खाने अवस्था विशेष अवस्था हो । जो बिरलै आउँछ । त्यही वेलामा निहुँ खोज्छन् । तरिका होइन नि । कम्तीमा खानु त पर्छ नि । मुख मिठ्याएर बस्यो । अरूले खान्की उछिट्याउँछ । बत्तीस सिटेले लुड्याएको लुड्यायै गर्छ । आफ्नो बकुन्द्र सिट पिँधै ठेस्याउनमा मात्रै सीमित छ ।
हेर्यो थुक निल्यो, हेर्यो थुक निल्यो । तोइत ! यी किल्किली थुक निल्न मात्रै हो ? यी रुद्रघण्टी किल्किलीको जलारीबाट थुकै खन्याउन मात्रै होइन नि । जाइफललाललाई खानुपर्छ । जब खाने मौका जुट्छ । हुन्डरी छुट्छ । कसले के भन्छ, कसले के भन्छ । खाने समय खाने नै हो नि । जिस्किने होइन नि । जाइफललाललाई खाने वेला जिस्क्याएको मन पर्दैन ।
सदाझैँ जाइफललालले खान लागेको थियो । पालक पनिरको पहिलो ठेउकोलाई मुखमा हाल्नेबित्तिकै फोनको ‘टुङटुङ’ले उसको शान्ति भत्काइदिन्थ्यो । ‘किन यो पनिरमा गुन्द्रुकको स्वाद आएको ?’ एउटा प्रश्नले उसको फिडमा कम्पन सिर्जना गरेको थियो । उसले आफ्नो ‘अरिंगाल सेना’लाई आदेश दिए– यो प्रश्न गर्नेको आइपी ठेगान खोजेर उसको फ्रिज पनिरविहीन गरिदेऊ !’ जाइफललाललाई प्रश्न सोध्ने । त्यही पनि खाने वेलामा ।
जाइफललाललाई नियम फुर्यो– खाने वेलामा सामाजिक सञ्जालमा प्रश्न गर्नेलाई ‘राष्ट्रिय स्वादविरोधी’ घोषणा गरी पाँच लाख जरिवाना ।
जाइफललाल खवाइको जत्तिकै स्मार्टफोन स्क्रोलिङको नि पारखी छ । स्मार्टफोन स्क्रोल गर्दै सोसल मिडियामा आफ्नो तारिफ सुन्दै मुसुमुसु हाँस्नु उसको सोख हो ।
जाइफललालको ‘लाइक’ र ‘सेयर’को बगैँचा फस्टाएको थियो । उसको फेसबुक पेजमा ‘जाइफल बा, तपाईंको बुद्धिमत्ताले नेपाललाई स्वर्ग बनाउँदै छ !’ कमेन्टहरूले र ‘आई लभ यु जाइफल बा’ शब्दसहितका राता पानहरूले हराभरा हुन्थे । ‘समृद्ध जाइफलकिस्तान, सुखी जाइफलकिस्तानी’– जाइफललालको नारा थियो । जाइफललालले एक दिन फेसबुकमा लेखे– जाइफलकिस्तान स्वर्ग हो । लोडसेडिङले आजित एक जाइफलकिस्तानी युवाले ‘स्वर्गमा बिजुली कटौती हुँदैन नि त’ लेख्दा प्रोफाइल चारपाटा मुडेर सदाका लागि साइनआउट गराइयो ।
त्यसैबखत जाइफललाललाई नयाँ नियम फुर्यो– जाइफललालको सामाजिक सञ्जाल बगैँचामा राता पानपत्ता मात्रै फुल्छ । प्रश्नमा यो झुल्दैन ।
एकदिन जाइफललालले जाइफललाल अनिकाल भन्ने ट्रेन्डिङ ह्यासट्याग देखे । उसको अनुहार आगोजस्तो रातो भयो । उसले तुरुन्त ‘सामाजिक सञ्जाल आपत्काल’ लागू गरी जाइफलको आकार र प्रकारसँग सम्बन्धित १९ प्रकारका ह्यासट्याग प्रतिबन्ध लगायो । यस्ता ट्यागहरूले ‘राष्ट्रिय सुरक्षामा खतरा’ उत्पन्न गर्छ भन्ने ठम्याइ जाइफललालको थियो ।
जाइफललाललाई नयाँ नियम फुर्यो– जाइफलविरोधी ह्यासट्याग प्रयोग गर्नेलाई ‘साइबर ट्याग टेरोरिस्ट’ घोषणा गरी तीन लाख जरिवाना ।
जाइफललालको मुटु धड्किएको थियो । धड्किनुको नि कारण थियो— एउटा मिममा बाफलमा काफल, काफल खाँदै जाइफल’ लेखिएको थियो । ‘यो कस्तो अनर्थ !’ बार्दलीमा बसेर सुन्तला र अनार खाँदै छु । अनारलाई काफल भन्दिने ? यस्तो फेक कुरा गर्ने ? अनार यत्रो हुन्छ, काफल त्यत्रो हुन्छ । यो सामान्य फेक होइन, डिप फेक नै हो । मनमनै उसले ‘डिप फेक नियन्त्रण विभाग’ गठन गर्यो ।
अर्को नियम फुरिहाल्यो— अब कसैले पनि नेताको फोटो एनिमेसन, कार्टुन वा मेमे बनाउन नपाउने । यसलाई ‘डिजिटल रूपोहरण’अन्तर्गत पाँच लाख जरिवाना र एक वर्ष जेल ।
अझै पनि यदाकदा जाइफललालको आँखा— राता पानसहितका ‘आई लभ यु जाइफल बा’ मा पर्छन् । जाइफललालका शरीरमा एक्कास्सी रक्त सञ्चार तेज हुन्छन् । अनुहारमा बेग्लै उज्यालो छाउँछ । जाइफललाललाई लाग्छ । सबैले बिहान उठेर ‘आई लभ यु, जाइफल बा’ लेखे कस्तो हराभरा हुन्थ्यो होला । मेरो मानसिक शान्तिका लागि कस्तो लाभ हुन्थ्यो होला ।
नयाँ नियम फुर्यो— हरेक प्रयोगकर्ताले कमेन्ट अघि ‘आई लभ यु जाइफल बा !’ लेख्नुपर्ने ।
जाइफललाललाई विभिन्न खाले समृद्धिजन्य चुट्का फुरिराख्छन् । एक दिन वाइफाईमार्फत इन्टरनेट दुनियाँमा आफ्नो नाम चम्काउने अजुल्याई फुर्यो ।
जाइफललालले लाइभ स्ट्रिम गर्दै भने,‘मेरो नयाँ योजनाः जाइफलकिस्तानमा हरेक घरमा जाइफल फ्री वाइफाई !’
कमेन्टमा कोरस चल्यो— जाइफल फ्री रे ? भनेसी त्यो वाइफाईमा कनेक्ट भएसी जाइफललाल झेलिराख्नुपर्दैन ! अर्को दिन उसले ‘लाइभ स्ट्रिमिङ नियमावली’ जारी गर्यो : अब लाइभमा ‘वाह, क्या बात’ मात्र भन्ने । सवाल गर्नेलाई ‘डिजिटल म्युट’ गरी इन्टरनेटबाट नै हटाउने ।
जाइफललालले न त स्क्रोलिङ आदतलाई हटाउन सक्यो । न त स्क्रिनमा स्क्रोलनीय जिनिस नै फेला पार्यो । आफ्नै फोनमा पनि स्क्रोलनीय जिनिस नहुनु जाइलाललाई ‘राष्ट्रिय स्क्रोल संकटकाल’ लागिरहेको थियो । संकटमोचनका लागि उसले आफ्नै फोनमा ‘सकारात्मक स्क्रोलिङ एक्ट’ लगाए— अब उसको फिडमा मात्रै रातो पान, प्रशंसा र ‘जाइफल बाको जय’का पोस्टहरू देखिन्थे । अनि अरूकोमा ? उपाय फुर्यो अरूले नकारात्मक स्क्रोल गरेमा उनीहरूको फोन स्वतः ‘पानीपुरी रेसिपी’मा रिडायरेक्ट हुने ।
नयाँ नियम फुराए– नेगेटिभ स्क्रोल गर्नेलाई ‘साइबर मोसन सिकनेस’को आरोपमा ५० हजार जरिवाना ।
जाइफललालका ‘अरिंगाल सेना’ले ट्विटरमा विरोधीलाई धम्की दिँदै थिए— तिम्रो आइपी ठेगान हामीलाई थाहा छ !’
तर, एक दिन सेनाकै सदस्यले ‘जाइफललाई खान दिनुहोस्’ भन्ने पोस्ट गरिदिएपछि उनीहरू ‘बारुला सेना’मा परिवर्तन भए । अब उनीहरूले मात्रै फूल, तितो सत्य र प्रश्नहरूमा मौरीझैँ गुञ्जन गर्न थाले ।
मौरीपछि बिस्तारै झिंगामा परिणत भएर जाइफललालकै खान्कीको वरिपरि घुम्न थाले । तपाईंलाई थाहै छ जाइफललाई खाने वेलामा जिस्क्याएको मन पर्दैन । भन्किएको मन पर्दैन ।
जाइफललालको अरिंगाल सेनाप्रति नि विश्वास हरायो ।
जाइफललालले ‘सामाजिक सञ्जाल नियमन महोत्सव’ आयोजना गरे । यसमा नागरिकहरूले नियमको नक्कल गरी नाच्नुपर्ने थियो । नत्र जरिवाना हुने थियो । एकजनाले ‘जरिवाना नाच’ प्रस्तुत गर्दै भने— ‘पाँच लाख तिरेर नाच्दा पनि मन खुसी !’ अर्कोले ‘ह्यासट्याग टांगो’ नाचेर सबैलाई हँसाए । जाइफललालले यसलाई ‘सांस्कृतिक विरोध’ भनेर प्रतिबन्ध लगाए ।
ठ्याक्कै त्यतिवेलै जाइफललालको प्रतिभा प्रस्फुटन भइहाल्यो । नयाँ नियम फुर्यो : महोत्सवको मजाक बनाउनेलाई ‘साइबर नृत्य अपराधी’ घोषणा गरी १० लाख जरिवाना ।
यी र यस्तै नियम उटटाप लेख्दालेख्दै जाइफललालको फोनको मेमोरी फुल भएछ । यी सबलाई मिलाएर संसद्मा पेस गर्ने र कानुनको रूपमा पास गर्ने योजना थियो रे जाइफललालको । तर, संसदमै ट्रोल हुने देखिएसी संसद् बंक गरेर टिकटकरहरूसँग रल्लिरहेको देखिएको थियो सामाजिक सञ्जालमा । त्यसपछि के भयो थाहा छैन ।
खैर जे होस् । अरू कुरा त्यस्तै हो । भइ नै राख्छन् । जाइफललाललाई खानेवेलामा जिस्क्याएको मन पर्दैन । नजिस्क्याउनु होला ।