
आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा छ । समानुपातिकतर्फ छापिएर ढुवानी भइरहेको छ । प्रत्यक्षतर्फ आधाभन्दा बढी छापिइसकेको छ ।
निर्वाचन आयोगले मतपत्रको रङ सेतो तय गरेको छ । सेतो पृष्ठभूमिमा रातो र कालो गरेर दुई प्रकारको चुनाव चिह्न र अन्य विवरण छापिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधिसभा र प्रदेश सभातर्फ प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रातो रङ र समानुपातिकतर्फ कालो रंगको प्रयोग गरिएको छ ।
४ मंसिरमा हुने निर्वाचनमा एक मतदाताले चारवटा मतपत्रमार्फत मतदान गर्नुपर्नेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेश सभा गरी दुई तथा समानुपातिकतर्फ पनि प्रतिनिधिसभा र प्रदेश सभा दुईवटा गरी कुल चार मतपत्रमा मतदाताले स्वस्तिक छाप लगाएर आफ्नो मत दिनुपर्ने प्रवक्ता पौडेलले बताए ।