चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक अनिवार्य राख्ने नियम कार्यान्वयनमा कडाइ गर्ने भएको छ।
ट्राफिक प्रहरीले चालकको थकानका कारण हुने सम्भावित दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनमा दुई चालक भए–नभएको नियमित जाँच गर्ने जनाएको छ। नियमविपरीत एकजना चालक मात्रै राखेर सवारी सञ्चालन गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।
यस्तै, लामो दूरीका सवारीचालकले मादक पदार्थ तथा लागुपदार्थ सेवन गरे–नगरेकोसमेत कडाइका साथ परीक्षण गरिनेछ। चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले सवारीको अवस्था, चालकको योग्यता, भाडा तथा टिकटमा हुने अनियमिततासमेत निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ।
सुरक्षित र सहज यात्राका लागि मुख्य सडक तथा बढी सवारी आवागमन हुने क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति बढाइनेछ।