समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया थप स्पष्ट पार्दै ‘चक्रीय राहत कोष सञ्चालन कार्यविधि, २०८३’ जारी गरिएको छ। सहकारी सञ्चालक, व्यवस्थापक तथा हिनामिनामा संलग्न व्यक्तिको सम्पत्ति रोक्का र लिलाम गरी बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्था कार्यविधिमा राखिएको छ।
कार्यविधिअनुसार सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको नाम, बचत रकमलगायत विवरणसहितको लगत तयार गर्नुपर्नेछ। त्यसका लागि सार्वजनिक सूचना निकालेर बचतकर्तालाई १५ दिनको समय दिई नागरिकता, सेयर प्रमाण, स्थायी लेखा नम्बर, राष्ट्रिय परिचयपत्र, बचत तथा ब्याजको विवरण, बैंक खाता, सहकारीबाट लिएको ऋण तथा धितो र अन्य सहकारीमा रहेको बचतको विवरण माग गर्न सकिनेछ।
कोषमा उपलब्ध रकमका आधारमा दोहोरो नपर्ने गरी दाबी पेस गरेका बचतकर्तालाई रकम फिर्ता गर्न सकिने व्यवस्था कार्यविधिमा गरिएको छ। बचतकर्तालाई फिर्ता गरिएको रकम भने सम्बन्धित सहकारीबाट पछि शोधभर्ना गर्नुपर्नेछ।
रकम फिर्ता गर्दा सहकारी समस्याग्रस्त घोषणा हुनुअघिको अभिलेख, विवरण वा कम्प्युटर प्रणालीमा देखिएको बचत मौज्दातलाई आधार मानिने उल्लेख छ। समस्याग्रस्त सहकारीको दायित्व अन्ततः राज्यकोषबाट मात्रै व्यहोर्नेभन्दा पहिले सम्बन्धित सहकारी तथा त्यसमा जिम्मेवार व्यक्तिको सम्पत्तिबाट असुल गर्ने प्रक्रियालाई कार्यविधिले जोड दिएको छ।
एकल महिला, ज्येष्ठ नागरिक र अशक्तलाई प्राथमिकता
एकल महिला, ज्येष्ठ नागरिक, दलित तथा आदिवासी जनजाति, पूर्ण अशक्त अपांगता भएका व्यक्ति तथा सरकारले तोकेका घातक रोग लागेका बचतकर्ताले समस्याग्रस्त सहकारीबाट पहिलो प्राथमिकतामा बचत फिर्ता पाउने कार्यविधिमा उल्लेख छ।
बचतकर्ताको मृत्यु भएको वा स्थानीय तहबाट बेपत्तत भएको सिफारिस आएमा प्रचलित कानुनअनुसार हकवालालाई प्रमाणका आधारमा रकम फिर्ता गर्न सकिने व्यवस्था पनि छ।
एकभन्दा बढी समस्याग्रस्त सहकारीमा बचत रहेका व्यक्तिको हकमा भने पहिले सबैभन्दा कम रकम बचत भएको संस्थाबाट रकम फिर्ता गरिनेछ। त्यसपछि क्रमशः अन्य संस्थाबाट रकम फिर्ता गर्ने व्यवस्था छ।
ऋण लिएकाले हिसाब मिलान नगरेसम्म बचत फिर्ता नपाउने
सम्बन्धित सहकारीबाट ऋण लिएका बचतकर्ताले ऋण चुक्ता वा हिसाब मिलान नगरेसम्म आफ्नो बचत रकम फिर्ता पाउनेछैनन्। त्यस्तै, समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक, अपचलन वा दुरुपयोगमा संलग्न व्यक्ति तथा उनीहरूको एकाघर परिवारका सदस्यको बचत रकमसमेत तत्काल फिर्ता नगरिने व्यवस्था गरिएको छ। त्यस्ता व्यक्तिको दायित्व फरफारक भएपछि मात्रै रकम फिर्ताको प्रक्रिया अघि बढ्नेछ।
सञ्चालक र व्यवस्थापकको सम्पत्ति रोक्का गरेर असुलउपर
सहकारीको रकम हिनामिना वा दुरुपयोगमा संलग्न व्यक्तिको सम्पत्ति रोक्का गर्ने व्यवस्था कार्यविधिमा छ। ‘बचतकर्तालाई रकम फिर्ता गर्नुअघि सम्बन्धित सहकारीका सञ्चालक, व्यवस्थापक, लेखा समिति, ऋण उपसमिति, जिम्मेवार कर्मचारी तथा सहकारीको सम्पत्ति र बचत–ऋण हिनामिनामा संलग्न अन्य व्यक्तिको चल–अचल सम्पत्ति र बैंक खाता रोक्का गर्नुपर्नेछ । त्यस्ता व्यक्तिको सम्पत्ति लिलाम बिक्री तथा व्यवस्थापन गरेर बचतकर्ताको रकम असुल गर्न सकिनेछ,’ कार्यविधिमा भनिएको छ।
लिलामबाट पनि बचतकर्ताको रकम पूरा नभएमा उनीहरूका परिवारका सदस्यले अंशबन्डा वा सम्बन्धविच्छेद गरी सहकारीको रकम अन्य कम्पनी, संस्था, आर्थिक कारोबार वा व्यवसायमा प्रयोग गरेको प्रमाणित भए त्यस्तो रकमबाट बढेको सम्पत्तिसमेत रोक्का र लिलाम गर्न सकिने व्यवस्था गरिएको छ।
प्रत्येक सहकारीको छुट्टाछुट्टै हिसाब
बचत फिर्ता गर्दा प्रत्येक समस्याग्रस्त सहकारीको कर्जा असुली, सम्पत्ति लिलाम तथा व्यवस्थापनबाट प्राप्त रकमको छुट्टाछुट्टै हिसाब राख्नुपर्ने भएको छ। त्यस्तो रकम सम्बन्धित संस्थाका बचतकर्तालाई मात्रै फिर्ता गर्नुपर्नेछ। त्यसैगरी, सरकारबाट राहत कोषमा प्राप्त रकम र कोषबाट भएको खर्चको पनि छुट्टै हिसाब राखी कानुनअनुसार लेखा परीक्षण गर्नुपर्ने व्यवस्था छ।