बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सरकारले करको दर बढाउनेभन्दा करको दायरा विस्तार गर्ने नीति लिने बताएका छन् ।
उद्योग–व्यवसाय सञ्चालनमा देखिएका व्यावहारिक तथा नीतिगत समस्या समाधान गर्दै निजी क्षेत्रको लगानी सुरक्षित गर्न प्रदेश सरकार सहकार्यका लागि तयार रहेको उनको भनाइ छ।
मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौँडामा आयोजना गरेको बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूको स्वागत तथा सम्मान कार्यक्रममा उनले सञ्चालनमा रहेका उद्योगको संरक्षण, व्यवस्थापन तथा नयाँ लगानीका लागि आवश्यक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी करको दर वृद्धि गर्दैनौँ, करको दायरा बढाउनेतर्फ लाग्छौँ,’ उनले भने, ‘उद्योग–व्यवसाय सञ्चालन गर्दा देखिएका समस्याको समाधानमा प्रदेश सरकारले समन्वय र सहकार्य गर्नेछ ।’
उनले प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगलाई व्यवस्थित बनाउन आवश्यक भौतिक पूर्वाधार निर्माणदेखि नीतिगत सहजीकरणसम्म प्रदेश सरकारले भूमिका निर्वाह गर्ने बताए ।
‘कतिपय उद्योग यहीँ उपलब्ध कच्चा पदार्थबाट सञ्चालन भएका छन् भने कतिपय उद्योग विदेशबाट कच्चा पदार्थ ल्याएर सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘यस्ता उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक भौतिक संरचनादेखि अन्य क्षेत्रमा समेत बजेट व्यवस्थापन गरी संरक्षण र संवर्द्धन गर्न प्रदेश सरकार लाग्छ ।’
मुख्यमन्त्री थापाले हेटौँडा औद्योगिक क्षेत्र देशका ठुला औद्योगिक क्षेत्रमध्ये एक रहेको उल्लेख गर्दै विभिन्न कारणले समस्यामा परेका तथा रुग्ण अवस्थामा रहेका उद्योग पुनः सञ्चालन गर्ने वातावरण बनाउन बागमती सरकार तयार रहेको बताए ।
विशेष गरी कच्चा पदार्थको अभाव, पूर्वाधार तथा नीतिगत समस्याका कारण सञ्चालनमा कठिनाइ भोगिरहेका उद्योगका विषयमा आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न सकिने उनको भनाइ थियो ।
उद्योगमा भएको लगानी सुरक्षित गर्नु सरकारको जिम्मेवारीसमेत रहेको उल्लेख गर्दै उनले उद्योगी–व्यवसायीका समस्या निजी क्षेत्रसँग नियमित छलफल गरी समाधान खोजिने मुख्यमन्त्री थापाले बताए ।
मुख्यमन्त्री थापाले हालैको वर्षा र विपतको कारण मुख्य सडक अवरुद्ध हुँदा प्रदेश सरकारले वैकल्पिक सडक सञ्चालनमा समेत ध्यान दिएको बताए ।
सिस्नेरी–देउराली–भीमफेदी सडकमा अत्यधिक सवारी चाप भएपछि कोगटे हुँदै भीमफेदी जोड्ने वैकल्पिक सडक खुलाउन मेसिन परिचालन गरिएको उनले जानकारी दिए । विपतपछिको तत्काल खोज, उद्धार, उपचार र राहतको चरणपछि अब पुनर्स्थापना तथा पुनर्निर्माणमा तीनै तहका सरकार केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
प्रदेश सरकारले यसअघि पनि विपतपछिको पुनर्निर्माणका लागि प्रदेशको स्रोतसँगै संघ, स्थानीय तह तथा अन्य निकायबाट स्रोत जुटाउने निर्णय गरेको छ।
हेटौँडामै नापतौल कार्यालय राख्न व्यवसायीको माग
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले उद्योग तथा व्यवसाय क्षेत्र मन्दीमा रहेको भन्दै सहज रूपमा व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे ।
व्यवसायीलाई कर तिर्न सक्षम बनाउने वातावरण नबनाई करको भार मात्रै बढाउनु उचित नहुने भन्दै उनले व्यावसायिक गतिविधि विस्तार गर्ने नीति आवश्यक रहेको बताए ।
अध्यक्ष रानाभाटले बागमती प्रदेशको राजधानी हेटौँडामा नापतौल कार्यालय नहुँदा उद्योगी–व्यवसायीलाई ढक, काँटा, लिटर र मिटरलगायत नापतौल उपकरणको दर्ता तथा नवीकरणका लागि वीरगन्ज जानुपर्ने बाध्यता रहेको बताए । प्रदेश राजधानीमै नापतौल कार्यालय स्थापना गरी व्यवसायीले भोग्दै आएको समस्या समाधान गर्न उनले प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
यस्तै, विस्तारित मयूरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण अघि बढाउन पनि प्रदेश सरकारसँग माग गरेको छ। औद्योगिक क्षेत्रलाई पूर्वाधारयुक्त बनाएर उद्योग स्थापनाका लागि प्रयोग गर्न सके हेटौँडा र आसपासमा थप लगानी तथा रोजगारी सिर्जना हुने व्यवसायीहरूको भनाइ थियो ।
रानाभाटले इपा–काठमाडौं सडक स्तरोन्नति गरी नियमित सञ्चालनको व्यवस्था गर्नसमेत आग्रह गरे । हेटौँडाबाट काठमाडौं जोड्ने वैकल्पिक सडकहरू नियमित सञ्चालनमा आउन सके उद्योग–व्यवसायको ढुवानी तथा आवागमनमा सहज हुने उनको भनाइ थियो ।