भोटेकोशी नदीको विनाशकारी बाढीले बगाएको नुवाकोट सदरमुकाम विदुरस्थित त्रिशूली माध्यमिक विद्यालय भवन भारत सरकारले पुनः बनाइदिने भएको छ। चार वर्षअघि भारतीय अनुदान सहयोगमा निर्मित भवन पुनः भारतले बनाइदिन लागेको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिएका छन्। विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीसँग मंगलबारको भेटमा राजदूत श्रीवास्तवले विद्यालय भवन बनाइदिने घोषणा गरेका छन्।
दुवाडीले समयमै विद्यार्थीहरूलाई निकालेका कारण उनीहरू सबै बाढीबाट जोगिएका थिए। प्रधानाध्यापक दुवाडीले समयमै चालेको कदमले रसुवामा आएको आकस्मिक बाढीमा विद्यालय बग्नुभन्दा ठिकअघि १६०० भन्दा बढी बालबालिकाको ज्यान जोगिएको चर्चा अन्तर्राष्ट्रिय जगतमा चलिरहेको छ।
सन् १९५१मा स्थापना भएको यो विद्यालय भवनको डिजाइन त्रिशूली जलविद्युत् आयोजनाको निर्माणमा संलग्न भारतीय इन्जिनियरद्वारा त्यसअघि गरिएको थियो। भारतीय सहयोगमा निर्मित विद्यालय भवन २०७९ साउन १७ मा उद्घाटन भएको थियो।
भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्रविक्रमसिंह ठकुरीले विद्यालय भवन उद्घाटन गरेका थिए।
भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ५० लाख नेपाली रुपियाँ लागतमा सामुदायिक विकास परियोजनाको रुपमा विद्यालय भवन निर्माण भएको थियो ।
विद्यालयको स्थापना सन् १९५१ मा भएको हो। त्रिशूली जलविद्युत् परियोजनाका लागि आएका भारतीय इन्जिनियर के.आई सिंहले विद्यालयको डिजाइन गरेका थिए।