मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
Invalid date format १२:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेशमा संविधान कार्यान्वयन, सुशासन र भ्रष्टाचार नियन्त्रण मुख्य कार्यभार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१९:oo

संविधान दिवस एवं राष्ट्रिय दिवस २०८२ का अवसरमा बागमती प्रदेशमा आयोजित औपचारिक कार्यक्रममा प्रमुख राजनीतिक नेतृत्वहरूले संविधानको कार्यान्वयन, सुशासन र भ्रष्टाचार नियन्त्रण मुख्य कार्यभार हुनुपर्ने बताएका छन् ।कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानलाई दोष दिनुभन्दा कार्यान्वयन प्रक्रियामा भएका त्रुटि स्वीकार्न दलहरू तयार हुनुपर्ने बताए ।

उनले ऐना पुछेर अनुहारको धुलो नपुछिने भन्दै आफ्नै गल्तीलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याए। ‘संविधान जनताको अभूतपूर्व बलिदानबाट प्राप्त उपलब्धि हो, यसलाई कानुनी दस्ताबेज मात्र नभई जीवित प्राणीसरह सम्मान गर्नुपर्छ,’ उनले भने ।

यसैगरी, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेन–जी आन्दोलनपछिको अस्थिरतालाई निर्वाचनमार्फत पार गर्नुपर्ने आवश्यकता रहेको औँल्याए। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबै दल, प्रशासन र सुरक्षा निकायको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। मुख्यमन्त्री बानियाँले सुशासन सुनिश्चित गर्न फजुल खर्च कटौती गर्ने र डिजिटल प्रविधिसँगै नयाँ पुस्ताको चाहनाअनुरूप सेवा प्रवाहलाई छिटो र पारदर्शी बनाउन प्रदेश सरकार क्रियाशील रहेको जानकारी दिए ।

कार्यक्रममा प्रदेशका पूर्वमुख्यमन्त्री एवं माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले युवाहरूको आन्दोलनलाई नकारात्मक रूपमा व्याख्या गर्न नहुने बताए। उनले राजनीतिक दलहरू आफैँ नसच्चिए देशले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिए। ‘युवाको प्रहार ममाथि पनि हो भन्ने सबैले बुझ्नु जरुरी छ, अब दलहरूले आत्मसमीक्षा गरेर रूपान्तरण गर्नुपर्छ,’ उनले भने। 

वर्तमान सरकारले संविधानले नचिन्ने अवस्था आएको दाबी गर्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न संविधान संशोधन आवश्यक भएकोमा उनले जोड दिए । नेताहरूले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, मौलिक अधिकार र समावेशितालाई संस्थागत गरेकोमा जोड दिँदै, कार्यान्वयनमा देखिएका त्रुटि सच्याउँदै सुशासन, पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।