
लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान दिवसको अवसर पारेर नेकपा एमाले धनकुटाले आज जनप्रदर्शन गरेको छ।
एमाले धनकुटाले मदनचोकबाट निकालेको जनप्रदर्शन र्याली हुलाकटोल, भीमनारायण चोक, माथिल्लोकोप्चे, बिहीबारे हटिया, तल्लोकोप्चे, टुँडिखेल हुँदै मदनचोकमा आएर कोणसभा गरेको थियो। ‘नेपालको संविधान २०७२ को रक्षा गरौँ’, ‘प्रतिगामी तत्त्व होसियार’ लेखिएका प्लेकार्डसहित मौन र्याली निकालिएको थियो।
र्यालीपश्चात् आयोजित कोणसभामा पूर्वमन्त्री एवं एमाले केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले नेपालको संविधान २०७२ संसारकै उत्कृष्ट संविधान भएको दाबी गर्दै संविधान रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए। जेन–जी आन्दोलनका जायज माग राज्यले पूरा गर्नुपर्ने बताउँदै पूर्वमन्त्री राईले उक्त आन्दोलनमा आपराधिक तत्त्वहरूको घुसपैठ भएका कारण राज्यले ठुलो क्षति व्यहोर्नुपरेकाले अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याउन सरकारसँग माग गरे।
यसैबिच आज बिहान विभिन्न कार्यक्रम गरी संविधान दिवस २०८२ धनकुटामा मनाइएको छ। धनकुटा बसपार्कमा रहेको सहिद स्तम्भमा माल्यार्पण गरी सदभाव र्याली निकालिएको छ। भीमनारायण चोकबाट सुरु भएको प्रभातफेरी भीमसेनथान, परिचयमोड, मदनचोक हुँदै बसपार्कमा आएर कोणसभा गरिएको थियो। सो अवसरमा बोल्दै कोशी प्रदेश सभा सांसद इन्द्रमणि पराजुलीले सहिदले ज्यानको आहुती दिएर ल्याएको संविधान सबैले रक्षा गर्नुपर्ने बताए। जेन–जीका जायज मागलाई सम्बोधन गर्दै भएका कमी–कमजोरीलाई सच्याएर दलहरू अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।
सदभाव र्यालीमा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, मानव अधिकारकर्मीलगायतकाे सहभागिता थियो।