मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
बंगलादेशका नजमुल फैसलविरुद्ध बल खोस्ने प्रयास गर्दैै नेपालका दिग्विजय शाही (रातो) । तस्बिर सौजन्य : एनएसजेएफ
नयाँ पत्रिका काठमाडाैं
२o८२ असोज ३ शुक्रबार o८:१४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बंगलादेशसँग पराजित भएपछि नेपाललाई गाह्रो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार o८:१४:oo
  • बंगलादेशसँग ४–० ले हारेको नेपाल समूह ‘ए’मा ३ अंकका साथ दोस्रो स्थानमा छ, अब नेपालको सेमिफाइनल पुग्ने आशा बंगलादेश र श्रीलंकाबिचको नतिजामा निर्भर

श्रीलंकाको कोलम्बोमा चलिरहेको साफ यू–१७ च्याम्पियनसिपमा बिहीबार नेपाली युवा टोली दुईपटकको विजेता बंगलादेशसँग ४–० ले पराजित भएको छ । समूह ‘ए’को महत्वपूर्ण खेलमा फराकिलो अन्तरले पराजित भएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । नेपालले आफ्ना दुवै खेल सकाएको छ । दुई खेलबाट नेपालले ३ अंक जोडेको छ । बंगलादेशलाई बराबरीमा रोक्दा नेपाल अन्तिम चारमा पुग्ने थियो । 

अब नेपालको सेमिफाइनल दौड कायमै राख्न बंगलादेश र आयोजक श्रीलंकाबिचको नतिजामा निर्भर रहनेछ । समूहको अन्तिम लिग खेल आइतबार हुनेछ । बंगलादेश र नेपालको समान ३ अंक छ । उद्घाटन खेलमा नेपालसँग पराजित श्रीलंका अंकविहीन छ । नेपालमाथि ४–० को जित निकालेको बंगलादेश गोल अन्तरले अगाडि छ ।

बंगलादेशले आफ्नो अन्तिम खेलमा श्रीलंकालाई हराउँदा वा बराबरी नतिजा निकाल्दा नेपाल उपविजेताका रूपमा सेमिफाइनलमा पुग्नेछ । यदि बंगलादेशमाथि श्रीलंकाले जित निकाल्दा समूह ‘ए’मा सबै टोलीको समान ३ अंक हुनेछ । यस्तो समीकरणमा गोलअन्तरका आधारमा सेमिफाइनलमा पुग्ने दुई टोलीको छिनोफानो हुनेछ । फराकिलो हार र गोलअन्तरमा नेपाल पछि रहँदा नेपालको सेमिफाइनल पुग्ने समीकरण गाह्रो हुने भएको हो । 

नेपालमाथि बंगलादेशको एकपक्षीय दबाब
पहिलो खेलमा उत्कृष्ट सुरुवात गरेको नेपालले दोस्रो खेलमा बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सकेन । नेपालले कुनै पनि समयमा विपक्षीमाथि दबाब सिर्जना गर्न सकेन । यसविपरीत बंगलादेशले भने पहिलो तथा दोस्रो हाफमा नेपालमाथि दबाब राखिरह्यो । उमेर समूहमा राम्रो लगानी गरेको बंगलादेशले नेपालविरुद्ध प्राविधिक तथा काउन्टर एट्याक्ट रणनीति लिएको थियो । नेपालको डिफेन्सदेखि फिनिसिङसम्म फितलो रह्यो । 

बंगलादेशका लागि मोहम्मद सबिर इस्लामको अग्रता गोल गरेका थिए । उनले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बंगलादेशलाई १–० को अग्रता दिलाए । पहिलो हाफमा नेपाल १–० ले पछि रह्यो । मध्यान्तरपछि नेपालको खेलमा सुधार हुने अपेक्षा थियो । तर, दोस्रो हाफमा नेपालको खेल झनै बिग्रन पुग्यो । कुनै पनि पोसेसन पकड बनाउन चुकेको नेपालले बंगलादेशको उत्कृष्ट फिनिसिङसामु घुँडा टेक्यो । 

खेलको ४९औँ मिनेटमा ओप रहमानले बंगलादेशलाई २–० को अग्रता दिलाए । खेलको ५०औँ मिनेटमा बंगलादेश ३–० ले अघि रह्यो । यसपटक बंगलादेशलाई मोहम्मद आरिफले अग्रता दिलाए । मोहम्मद मानिकले ६६औँ मिनेटमा चौथो गोल गरे । दुईपटकको विजेता बंगलादेशले जितका साथ च्याम्पियनसिपमा उत्कृष्ट सुरुवात गर्‍यो । प्रतियोगितामा भारत सर्वाधिक ६ पटकको विजेता हो । पाकिस्तानले एकपटक उपाधि जितेको छ । नेपाल चारपटकको फाइनलिस्ट हो ।