
अहिलेको संकट र दमनको जिम्मेवारी लिएर निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले नेतृत्वबाट बिदा लिई पुनर्गठन अभियान सुरु गर्नुपर्ने मत पार्टीभित्र बढ्दै गए पनि उनी स्वयं राजीनामा दिने मुडमा छैनन् ।
त्यही कारण संस्थापन पक्षले संकटका वेला पार्टीभित्र छलफल गर्ने विषयबारे बाहिर प्रतिक्रिया दिने कुरा ठिक नभएको भन्दै प्रतिरक्षा गरिरहेको छ । राजीनामा नदिने, प्रतिरक्षा गर्ने नीतिअनुसार नै ब्यारेकभित्र रहँदा पनि ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक दिएनन् ।
सोही कारण संस्थागत धारणाका लागि एमालेको सचिवालयको बैठक पनि यसबिचमा बस्न सकेन । ओलीले नै अहिलेको संकटका विषयमा धारणा सार्वजनिक गरेपछि उपयुक्त समयमा समीक्षा र आगामी बाटोबारे बैठक आयोजना गर्ने मुडमा महासचिव शंकर पोखरेल देखिन्छन् ।
केही दिनअघि उनले उपयुक्त समयमा पार्टीले समीक्षा बैठक गर्ने वक्तव्यमा उल्लेख गरेका थिए । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि पार्टी पुनर्गठनको विषय अहिले प्रवेशै नभएको बताए । ‘पार्टी पुनर्गठन भनेको पार्टीको आन्तरिक बिजनेस हो । त्यो विषयमा प्रवेश नै गरेका छैनौँ,’ गौतमको भनाइ छ ।