मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
शुरोजंग पाण्डे काठमाडाैं
Invalid date format o६:३३:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

१० दिनपछि सैनिक ब्यारेकबाट निस्किए ओली, भक्तपुरको गुन्डुमा डेरामा बसे

बालकोट निवासको पुनर्निर्माण एक महिनामा पनि नसकिने भएकाले कम्तीमा तिहारसम्म गुन्डुमै बस्ने 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:३३:oo

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नेताका निवासदेखि राज्यका सार्वजनिक संरचनामा आक्रमण हुन थालेपछि सेनाले बालुवाटारबाट उद्धार गरेर शिवपुरी ब्यारेक राखेका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली १० दिनपछि बाहिरिएका छन् । सेनाले ब्यारेकबाट बाहिर निस्किन अनुमति दिएपछि ओली भक्तपुरको सूर्यविनायक नगरपालिका– ७, गुन्डुस्थित डेरामा बस्न थालेका छन् । 

उनलाई एमाले पोलिटब्युरो सदस्य तथा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतको निवासनजिकै वडा कार्यालयछेउमा स्थानीय कार्यकर्ताको निवासमा राखिएको छ । बस्नेत बस्दै आएको घरमै ओलीलाई राखिएको हो । आफ्नो घर पनि आन्दोलनकारीले आगजनी र तोडफोड गरेर ध्वस्त बनाएपछि बस्नेत त्यहाँ सरेका थिए । 

अस्थायी निवाससँगै ओलीको बाहिरी घेराको सुरक्षा व्यवस्थापन बस्नेतले नै हेर्नेछन् । सवा ५ बजे गुन्डु पुग्दा उनलाई बस्नेत, भक्तपुर अध्यक्ष बचन देउजासहित नेता–कार्यकर्ताको टोलीले स्वागत गरेको थियो । 

ओलीको बालकोटस्थित निजी निवास आगजनी र तोडफोडबाट ध्वस्त छ । सशस्त्र प्रहरी र स्थानीय क्लबमा आबद्ध युवाहरूले उनको निजी निवासको बाहिरी सुरक्षा हेरिरहेका छन् भने एउटा टोलीले सफाइ सुरु गरेको छ । ओलीसहित एमाले नेताहरूको ध्वस्त निजी निवासको स्थलगत अध्ययन गरी पुनर्निर्माणका लागि पार्टीसम्बद्ध प्रगतिशील इन्जिनियर्स एसोसिएसनले अगुवाइ गरिरहेको छ । केही व्यावसायिक इन्जिनियर्सहरूसहितको टोलीले दिएको प्रतिवेदनका आधारमा अध्यक्षसहित एमाले नेताहरूले निजी निवास पुनर्निर्माण थाल्ने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । तर, पुनर्निर्माण एक महिनामा पनि नसकिने भएकाले कम्तीमा तिहारसम्मै बस्ने गरी ओली गुन्डु सरेका हुन् । 

जेन–जी आन्दोलन चर्किँदै जाँदा उग्र बन्दै गएका प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई पनि लक्षित गरेर आगजनी गर्न खोजेपछि २४ भदौमा दिउँसो करिब २ बजे ओलीले राजीनामा दिएका थिए । त्यसपछि पत्नी राधिका शाक्यसहित उनलाई सैनिक हेलिकोप्टरमा शिवपुरी ब्यारेक पुर्‍याइएको थियो । 

जेन–जी आन्दोलनबाट सत्ताच्युत भएका ओली अहिलेसम्म मौन छन् । उनलाई राखिएको र छाडिएको स्थानबारे अहिलेसम्म नेपाली सेनाले पनि औपचारिक रूपमा केही बताएको छैन ।

शुक्रबार सार्वजनिक गराउने प्रयास 
ओलीलाई शुक्रबार संविधान दिवसको अवसर पारेर सार्वजनिक गराउने तयारी छ । संविधान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा सार्वजनिक गराइने नेता बस्नेतले बताएका छन् । भक्तपुर एमालेले आयोजना गरेको एक कार्यक्रममा उनले ओलीको सार्वजनिक तयारीबारे जानकारी दिएका हुन् । तर, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने त्यस्तो सम्भावना नरहेको बताए ।

‘शुक्रबार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र महासचिवलगायतका नेताहरूको उपस्थितिमा औपचारिक कार्यक्रम हुन्छ, अध्यक्ष आउने कार्यक्रम तय भएको छैन,’ गौतमले प्रश्न गर्दै भने, ‘उहाँ अहिले पार्टीको सम्पर्कमै हुनुहुन्छ, यसको अर्थ कार्यक्रममा आउनुहुन्छ भन्ने होइन, के उहाँ आउँदा राज्यले सुरक्षा दिन सक्छ त ?’ 

नेता बस्नेतले भने पार्टी कार्यकर्ताले नै सुरक्षा गरेर ओलीलाई कार्यक्रममा उपस्थित गराउने बताउँदै आएका छन् । एमाले भ्रातृ संगठन प्रेस चौतारी नेपालले ओलीकै उपस्थितिमा संविधान दिवसको कार्यक्रम आयोजना हुने भन्दै सञ्चारकर्मीलाई निमन्त्रणा गरेको छ । सुरक्षा संवेदनशीलताका कारण एमालेका नेताहरूले उनको उपस्थितिबारे औपचारिक प्रतिक्रिया दिन मानिरहेका छैनन् । तर, बस्नेतसहित एमालेको संस्थापन पक्षका नेताहरू सकभर सुरक्षा स्थिति हेरेर ओलीलाई कार्यक्रममा उपस्थित गराउने योजनामा छन् ।

अस्थायी पार्टी केन्द्रीय कार्यालयका लागि डेराको खोजी 
एमालेले पार्टीलाई पूर्ववत् सञ्चालनका लागि अस्थायी केन्द्रीय कार्यालय सञ्चालन गर्ने गरी डेराको खोजी सुरु गरेको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय ध्वस्त हुँदा मर्मतसम्भारबाट पनि तत्काल सञ्चालन हुने सम्भावना क्षीण देखिएका कारण केही महिनाका लागि एमालेले अस्थायी डेरा खोजी गरिरहेको हो । सरकार परिवर्तनसँगै परस्थिति सामान्य बन्दै गएपछि एमाले महासचिव शंकर पोखरेलसहित नेताहरूले टेलिफोन र इमेल सम्पर्ककै माध्यमबाट अनौपचारिक तवरमा केन्द्रीय कार्यालय सञ्चालन गरिरहेका छन् । अब भने अस्थायी संरचनामा डेरा राखेर भए पनि औपचारिक रूपमै कार्यालय सञ्चालन गर्ने योजना बनेको र त्यसका लागि उपयुक्त स्थानमा भवनको खोजी भइरहेको केन्द्रीय कार्यालय सचिव अधिकारीले जानकारी दिए । 

‘तत्काल केन्द्रीय कार्यालय भवन सञ्चालन हुने सम्भावना छैन, त्यसैले केही महिनाका लागि उपयुक्त स्थानमा अस्थायी केन्द्रीय कार्यालय सञ्चालन गर्ने गरी उपयुक्त भवनको खोजी सुरु गरिरहेका छौँ, त्यसका लागि उपत्यकामा रहनुभएका नेता–कार्यकर्ताहरू परिचालित हुनुभएको छ,’ अधिकारीले भने ।

नेतृत्वबाट बिदा लिन ओलीमाथि पार्टीभित्र दबाब बढ्दै, तर छैन संकेत
अहिलेको संकट र दमनको जिम्मेवारी लिएर ओलीले नेतृत्वबाट बिदा लिई पुनर्गठन अभियान सुरु गर्नुपर्ने मत पार्टीभित्र बढ्दै गए पनि उनी स्वयं राजीनामा दिने मुडमा छैनन् । त्यही कारण संस्थापन पक्षले संकटका वेला पार्टीभित्र छलफल गर्ने विषयबारे बाहिर प्रतिक्रिया दिने कुरा ठिक नभएको भन्दै प्रतिरक्षा गरिरहेको छ । राजीनामा नदिने, प्रतिरक्षा गर्ने नीतिअनुसार नै ब्यारेकभित्र रहँदा पनि ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक दिएनन् । सोही कारण संस्थागत धारणाका लागि एमालेको सचिवालयको बैठक पनि यसबिचमा बस्न सकेन । ओलीले नै अहिलेको संकटका विषयमा धारणा सार्वजनिक गरेपछि उपयुक्त समयमा समीक्षा र आगामी बाटोबारे बैठक आयोजना गर्ने मुडमा महासचिव शंकर पोखरेल देखिन्छन् । केही दिनअघि उनले उपयुक्त समयमा पार्टीले समीक्षा बैठक गर्ने वक्तव्यमा उल्लेख गरेका थिए । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि पार्टी पुनर्गठनको विषय अहिले प्रवेशै नभएको बताए । ‘पार्टी पुनर्गठन भनेको पार्टीको आन्तरिक बिजनेस हो । त्यो विषयमा प्रवेश नै गरेका छैनौँ,’ गौतमको भनाइ छ ।