मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:११:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चुनाव हुन नदिएर अन्तरिम सरकारलाई असफल बनाउने  षड्यन्त्र सुरु भइसकेको छ : प्रचण्ड

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:११:oo

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरिम सरकारलाई असफल बनाउने प्रयास सुरु भएको बताएका छन् । देश र जनताविरुद्धका षड्यन्त्र अझै जारी रहेकाले चुनाव हुन नदिएर मुलुकलाई थप अस्थिरतातर्फ लैजाने योजनाबद्ध प्रयास हुने भन्दै उनले सतर्क रहनुपर्ने औँल्याएका छन् । 

‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका छैनन् । अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरु भइसकेको छ । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनाबद्ध प्रयास हुन सक्छ । हामी घोषित निर्वाचन समयमै सम्पन्न होस् भन्ने चाहन्छौँ,’ बिहीबार भिडियो सन्देश जारी गर्दै प्रचण्डले भनेका छन् । जेन–जी आन्दोलनको बलमा कांग्रेस–एमाले गठबन्धन सरकार ढलेर बनेको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ । 

अहिले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबिच दह्रो एकता खोजेको प्रचण्डको भनाइ छ । ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो । इतिहासको चिहानमा मिल्काइएकाहरूले युवापुस्ताको परिवर्तनको चाहनालाई उपयोग गरेर जनताका उपलब्धि उल्ट्याउन चाहेका छन् । त्यसैले अहिले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबिच दह्रो एकता खोजेको छ,’ उनले भनेका छन् । संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको प्रचण्डको भनाइ छ । 

जेन–जी आन्दोलनलाई समयमै विवेकपूर्वक सम्बोधन गर्न नसक्दा मुलुक अहिले तरल अवस्थामा पुगेको प्रचण्डको भनाइ छ । कांग्रेस र एमालेको नेतृत्वलाई जनताको आक्रोशसँग नखेल्न आफूले पटक–पटक खबरदारी गरे पनि बेवास्ता गरिएको उनको आरोप छ ।

‘प्रधानमन्त्रीका रूपमा या प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा मैले कांग्रेस–एमालेको नेतृत्वलाई जनताको आवेश र आक्रोशसँग नखेल्न निरन्तर खबरदारी गरिरहेँ । संसद्बाट मात्रै होइन, सडकबाट पनि पटक–पटक लाखौँ जनतालाई साक्षी राखेर भनिराख्यौँ,’ प्रचण्डले भिडियो सन्देशमा भनेका छन्, ‘श्रीलंका र बंगलादेशको संकट संसद्मा संख्याको संकट थिएन । त्यसैले दुईतिहाइको घमण्डबाट बाहिर निस्कन मैले सुझाव दिइरहेँ । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको पनि हामीले विरोध गरिरह्यौँ । प्रतिपक्षका रूपमा संसद्मा हाम्रो जत्रो आकार थियो, त्योभन्दा धेरै ठुलो प्रतिरोध हामीले गर्‍यौँ ।’ 

जेन–जी आन्दोलनलाई माओवादीले सुरुमै समर्थन गरेको प्रचण्डले बताए । आफूहरूले संविधान निर्माणका क्रममा राखेका फरक मत अहिले जेन–जी आन्दोलनका एजेन्डासँग मिल्ने उनको भनाइ थियो । ‘राजनीतिक दलका रूपमा जेन–जी आन्दोलनको मागमा पहिलो समर्थन हामीले नै गर्‍यौँ । आन्दोलनमा चरम दमन भएपछि २३ गते साँझ नै हामीले प्रधानमन्त्रीको राजीनामा माग्यौँ,’ उनले भनेका छन्, ‘संसद् विघटनको विधि र प्रक्रियामा असहमत हुँदाहुँदै पनि अन्तरिम सरकारको नेतृत्व चयनमा प्रचण्ड र माओवादीले कस्तो भूमिका खेल्यो त्यो सबैमा स्पष्ट छ । म यति भन्छु– जेन–जी आन्दोलन माओवादी जनक्रान्तिले सम्झौताको टेबुलबाट पूरा गर्न नसकेको एजेन्डाहरूकै अभिव्यक्तिहरू हुन् ।’ 

संविधान निर्माणका क्रममा संविधानसभामा अंक नपुगेपछि आफूहरूले लिखित फरक मत दर्ज गरेको प्रचण्डले स्मरण गरेका छन् । ‘१० वर्षअघि हामीले दर्ज गरेका फरक मत र अहिले जेन–जी आन्दोलनले राखेका मागमा समानता छ । त्यतिखेर संविधानसभामा हाम्रो संख्या पुगेन । तर, हामीले हाम्रा असहमतिहरू लिखित फरक मतका रूपमा इतिहासको अदालतमा दर्ज गरेका थियौँ,’ उनले भनेका छन्, ‘अहिले जेन–जीले मागेको प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो त्यतिवेलैको सबैभन्दा मुख्य फरक मत थियो । पैसाको खोलो बग्ने र भुइँमान्छेले लड्नै नसक्ने अहिलेको निर्वाचन प्रणाली हामीले भत्काउन चाहेका थियौँ । हामी पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा थियौँ ।’ 

त्यतिखेर माओवादीका फरक मत स्वीकार गर्दै कार्यान्वयन गरिएको भए अहिलेको अवस्था नआउने प्रचण्डको आकलन छ । ‘पछिल्ला घटनाक्रम हेर्दा कताकता यस्तो लाग्छ– हाम्रा फरक मतहरू त्यतिवेलै स्वीकार गरिन्थ्यो र त्यसको सफल कार्यान्वयन हुन्थ्यो भने आज युवाहरूले विद्रोह गर्नुपर्ने र रगत बगाउनुपर्ने अवस्था सिर्जना नहुन पनि सक्थ्यो,’ उनले भनेका छन्, ‘परम्परागत दलहरूले युवाहरूको आवाज सुन्न ढिलो गर्दा १० वर्ष लामो जनयुद्धमा ठुलो क्षति भयो र अहिले जेन–जी आन्दोलनमा पनि ठुलो मूल्य चुकाउनुपर्‍यो ।’ 

जेन–जी आन्दोलनको बलमा त्यही संसद्बाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरूपमा जाने गरी संविधान संशोधन सम्भव भए पनि त्यसो हुन नसक्दा ऐतिहासिक उपलब्धि हासिल हुनबाट चुकेको प्रचण्डको भनाइ छ । ‘देशका अरू आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्थ्यो । त्यसपछि बरु संसद् विघटनबारे सोच्न सकिन्थ्यो । तर, आज जेन–जी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित भयो, शासकीय स्वरूप नै बदल्ने र इतिहास रच्ने मौका फेरि पनि गुम्यो,’ उनले भनेका छन् ।

जेन–जी आन्दोलन लोकतन्त्रविरोधी नभएर यथास्थितिवादी र तदर्थवादी शासन प्रणालीको विरोधी र उन्नत लोकतन्त्रको पक्षधर रहेको प्रचण्डले बताएका छन् । २३ भदौको आन्दोलन वास्तविक जेन–जी आन्दोलन भए पनि २४ भदौमा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायत देशभरका भौतिक संरचनामाथि ध्वंस मच्चाउने कार्यमा प्रतिगमनकारी र आपराधिक तत्वहरू संलग्न रहेको उनको भनाइ छ । 

विगतमा आफूहरूबाट पनि कमजोरी भएको प्रचण्डले स्वीकार गरेका छन् । ‘हामीबाट पनि कमी–कमजोरी भएका छन् । व्यवहारमा कहीँ न कहीँ चुकेका हौँ,’ उनले भनेका छन्, ‘सच्चिँदै छौँ, अझै सच्चिन्छौँ ।’