मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
रमेश रावल सुर्खेत
२o८२ असोज २ बिहीबार १७:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जेन-जी आन्दोलन : कर्णालीका तीन जिल्लामा ५२ भवन क्षति, १३ जना घाइते

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार १७:४५:oo

गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनका क्रममा कर्णाली प्रदेशका तीन जिल्लामा सरकारी तथा निजी भौतिक संरचनामा ठुलो क्षति पुगेको छ। सुर्खेत, जुम्ला र मुगु तीन जिल्लामा गरी ५२ वटा भवनमा क्षति पुगेको हो।

सुर्खेतमा ४४, जुम्लामा ६ र मुगुमा २ भवन आंशिकदेखि पूर्ण रूपमा ध्वस्त भएका कर्णाली प्रहरी प्रदेश कार्यालयले जनाएको छ। तीमध्ये ५ संघीय, ७ प्रादेशिक, १७ जिल्ला तथा स्थानीय तहका, ८ निजी, ३ विभिन्न संघ–संस्थाका र १२ पार्टीका भवनमा क्षति पुगेको छ।

जलेर पूर्ण रूपमा नष्ट भएका भवनको संख्या २० रहेको प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) केदार खनालले बताए। उनका अनुसार संघीय १, प्रादेशिक ४, जिल्ला तथा स्थानीय तहका ७, निजी ४, अन्य संघ–संस्थाका १ र पार्टीका ७ भवन रहेका छन्।

सवारीसाधनतर्फ ४५ वटा गाडी र मोटरसाइकलमा क्षति पुगेको छ। ६ वटा सरकारी गाडी पूर्ण रूपमा जलेका छन् भने १३ वटामा आंशिक क्षति भएको छ। त्यस्तै, मोटरसाइकल १४ पूर्ण रूपमा जलेका र ५ आंशिक क्षतिग्रस्त छन्। निजी सवारीसाधनतर्फ २ वटा पूर्ण रूपमा जलेका छन् भने ४ गाडी र १ मोटरसाइकल आंशिक क्षतिग्रस्त भएका एसएसपी  खनालले जानकारी दिए।

आन्दोलनका क्रममा प्रदेशभर १३ जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र विभिन्न अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरीले जनाएको छ।