मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
२o८२ असोज २ बिहीबार १८:५२:oo
Read Time : > 2 मिनेट
समाचार

जेन–जी आन्दोलनका क्रममा सिराहामा झन्डै एक अर्बको क्षति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार १८:५२:oo

जेन—जी पुस्ताको आन्दोलनका क्रममा जिल्ला स्थानीय तहका कार्यालयमा भएका तोडफोड, आगजनीको बिहीबार जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले अनुगमन गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित सुरक्षा समितिका पदाधिकारीहरूको टोलीले २४ भदौमा भवन, विभिन्न शाखा र सवारीसाधनमा गरिएका तोडफोड आगजनीको स्थलगत अनुगमन गरेको हो ।

जिल्ला सदरमुकाम सिरहास्थित सिराहा, लहान र सुखीपुर नगरपालिका, औरही, नवराजपुर, भगवानपुर, सखुवानन्कारकट्टी गाउँपालिकामा सुरक्षा समितिका पदाधिकारीहरूले पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरूसँग भेटेर क्षतिको अवलोकनसहित कुराकानी गरेका थिए । 

पालिका प्रमुख र प्रशासकीय अधिकृतहरूसँग कुराकानीको क्रममा प्रजिअ अधिकारीले आगामी दिनमा जनताको मन जित्ने गरी काम गर्न आग्रह गरे । ‘समय हिजो जस्तो रहेन, अबको काम जनमैत्री, विश्वसनीय र पारदर्शी ढंगले गर्नुहोला,’ उनले भने, ‘आन्दोलनअघि सम्पादन गरिएका कामहरूको आत्मसमिक्षा र मूल्यांकन गरेर अगाडि बढ्नु होला ।’ २४ भदौको आन्दोलनको क्रममा जिल्लाका १७ वटै स्थानीय तह, निजी, प्रहरीसहित ५२ वटा भौतिक संरचनामा तोडफोड र आगजनी हुँदा करिब एक अर्ब रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए । 

जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह
स्थानीय तहको स्थलगत अनुगमनको क्रममा लहान आइपुगेको सुरक्षा अधिकारीहरूको टोलीले आगजनीमा परेको लहान नगर कार्यपालिका भवनको अवलोकन गरेको छ ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रजिअ अधिकारीले आन्दोलनपछि फेरिएको परिस्थितिमा जिल्लाका सबै कार्यालय प्रमुख, स्थानीय तहका कर्मचारीहरूले जनतालाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे । 

‘कार्यालयहरूले कम्तिमा नागरिक सहायता कक्ष राखेर भए पनि जनतालाई सेवा कहिले कसरी पाइन्छ भन्ने विषयमा जानकारी दिनुपर्छ,’ उनले भने, ‘जिल्ला प्रशासनले पनि बिहीबारदेखि नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीलगायतका सेवा सुचारू गरेको छ ।’

नजिकिँदो चाडपर्वका सन्दर्भमा चाडबाडजन्य सुरक्षाको प्रबन्ध, कार्यालयको सेवा प्रवाहमा जुट्न कर्मचारीहरूलाई आग्रह गरे । उनले भने, ‘बिदा छ भनेर घर जाने होइन, अप्ठ्यारो बेलामा जनताको सेवा जुट्न जरूरी छ । कार्यालयका सम्बन्धित शाखा प्रमुखहरूले ‘आफ्नो शाखा आफैंले बनाउने’ गरी काम थाल्नु होस ।’

अवाञ्छित गतिविधिमा लाग्नेलाई कारबाही
आन्दलोलनको नाममा सरकारी निकाय तथा कार्यालयहरूमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने उद्देश्यले गएका व्यक्तिहरूले प्रतिशोधपूर्ण ढंगले अवाञ्छित गतिविधि गरेको भेटिएको उनले बताए । ‘सरकारी निकाय, स्थानीय तहमा आन्दोलनको मर्म विपरीत आगजनी, तोडफोड, लुटपाट गरिएका प्रमाणहरू प्रहरीले संकलन गरी अनुन्धान गर्दैछ,’ उनले भने । केन्द्रको स्पष्ट नर्देशन प्राप्त भएपछि सरकारी सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाटमा संलग्न आपराधिक व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही हुने उनले बताए । ‘त्यस्ता घटनाका भिडियो फुटेज, फोटासहित अन्य प्रमाणहरू उपलब्ध गराएर राज्यलाई सहयोग गर्न आग्रह गर्दछु,’ उनले भने । 

पाँचबाहेक सबै पालिकामा तोडफोड र आगजनी
जिल्ला प्रहरी कार्यालय सिराहाले संकलन गरेको प्रारम्भिक विवरणअनुसार सिरहाको सिराहा, लहान, गोलबजार, मिर्चैया, कल्याणपुर, धनगढीमाई नगरपालिका र नरहा, विष्णपुर, नवराजपुर, औरही, भगवानपुर गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

यस्तै, कर्जन्हा नगरपालिकाको ७ र ८, कल्याणपुर ११, गोलबजार ६ र १२, गोलबजार स्वास्थ्य चौकी, औरहीको ४ र ५ नम्बर वडा कार्यालय र विष्णुपुरको १ नम्बर वडा कार्यालयमा तोडफोड र आगजनी भएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पासवानले बताए । उनले भने, ‘तोडफोड र आगजनीको क्रममा के कति भौतिक क्षति भयो, कार्यालयमा रहेका उपकरण, फर्निचर क्षतिको मूल्यांकन हुँदैछ ।’

प्रदर्शनकारीको समूहले जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, इलाका प्रहरी कार्यालय गोलबजार, विष्णुपुर, वडा प्रहरी कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी बिटमा आगजनी तथा तोडफोड गरेको छ । प्रदर्शनकारीको समूहले इलाका प्रहरी कार्यालय लहान, मिर्चैया, कल्याणपुर, बरियारपट्टि, झाँझपट्टिको प्रहरी बिट तथा प्रहरी चौकी औरही र हर्कट्टीमा तोडफोड गरेको थियो ।

प्रहरी चौकी हरकट्टी र औहरीको मोटोरोला ह्याण्डसेटको ब्याट्री र चार्जरमा आंशिक क्षति पुगेको छ भने जिल्लाका विभिन्न प्रहरी युनिटमा प्रहरीले प्रयोेग गर्ने सामग्रीहरू फुल गियर १६ थान, शिल्ड ३८ थान, हेल्मेट ३६ थान, लाठी ६५ थान र बडी प्रोटेक्टर पाँच थान गरी एक सय ६० थान तोडफोडमा क्षति भएको छ । प्रहरीले प्रयोग गरिरहेका पाँचवटा सरकारी मोटरसाइकल तथा चार थान चारपांग्रे सवारी साधन, प्रहरीका निजी ११ थान मोटरसाइकल तोडफोड र ३ वटा आगजनी भएको जनाइएको छ । 

२४ भदौको प्रदर्शनको क्रममा सिरहा जिल्ला अदालत, नापी कार्यालय, जिल्ला सरकारी वकील कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र लहानस्थित इलाका प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, डिभिजन वन कार्यालय, यातायात व्यवस्था कार्यालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा लुटपाट, नापी कार्यालय, मालपोत कार्यालयमा तोडफोड तथा आगजनी भएको छ ।