
कर्जाको माग नबढेपछि वाणिज्य बैंकहरूले असोजका लागि पनि मुद्दती निक्षेपको ब्याजदर थप घटाएका छन् । २० वाणिज्य बैंकले बुधबार सूचना जारी गर्दै निक्षेप तथा बचतको ब्याजदर घटेको जानकारी दिएका हुन् । योसँगै कर्जाको ब्याजदर पनि थप घट्नेछ ।
भदौमा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा औसत ५.५७७ प्रतिशतको अनुपातमा ब्याजदर निर्धारण गरेका थिए । असोजका लागि निर्धारण गरिएको औसत ब्याजदर भने ५.४६ प्रतिशत रहेको छ ।
त्योअनुसार ०.११ प्रतिशत विन्दुले ब्याजदर घटेको छ । सूचनाअनुसार नौवटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल, सानिमा, एभरेष्ट, सिटिजन्स, एनआइसी एसिया, कुमारी, कृषि विकास, नेपाल बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर घटाएका छन् ।
यता, लक्ष्मी सन्राइज र स्ट्यान्डर्ड चार्टर्ड बैंकले असोज महिनाका लागि ब्याजदर बढाएका छन् भने बाँकी बैंकहरूले भने भदौकै दरलाई निरन्तरता दिएका छन् ।