
सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् ।
संसद् विघटनको घटनालाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारहरूको जिज्ञासामा सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
जेन–जेड आन्दोलनका क्रममा जलेको संसद् भवन अनुगमन गर्न पुगेका सभामुख घिमिरेले भने, ‘जे घटनाहरू देशमा घट्यो, हामीले जे व्यहोरिरहेका छौँ, यो ज्यादै दुःखद कुराहरू हो । यसबाट उठेर ठिक ढंगबाट अगाडि जानु सबैको दायित्व छ ।’
अन्तरिम सरकारको अगाडि ठुलो जिम्मेवारी रहेको भन्दै उनले अब यसलाई समाधान गर्ने गरी जान सक्नुपर्ने बताए ।
व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएका कारण गम्भीर परिस्थिति सिर्जना भएको भन्दै सभामुख घिमिरेले यसको समीक्षा गर्ने र देशलाई उठाउन आममान्छे, आमजनता, आमक्षेत्र सबै लाग्नुपर्ने बताए ।