मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
क्रिस्टोफर लकइयर
Invalid date format o९:३३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चिकित्सकले होइन, विश्वनेताले मात्र रोक्न सक्छन् इजरायली नरसंहार

Read Time : > 2 मिनेट
क्रिस्टोफर लकइयर
नयाँ पत्रिका
Invalid date format o९:३३:oo
  • गाजामा हरेक दिन एक हजार ११८ सहकर्मी काम गरिरहेका छन्, उनीहरूले नरसंहार रोक्न सक्दैनन्, तर विश्व नेताहरूले चाहे भने यो नरसंहार रोकिन्छ

गाजा सहर खाली गर्न आपत्कालीन आदेश प्राप्त भएपछि गाजाका दश लाखभन्दा बढी मानिसले नयाँ आतंकको सामना गरिरहेका छन् । लाखौँ नागरिक अझै पनि भित्र फसिरहेकै समयमा इजरायली सेनाले आफ्नो स्थल आक्रमण सुरु गरेको छ । वृद्ध, गम्भीर रूपमा अस्वस्थ, घाइते र गर्भवतीलाई भाग्न असम्भवजस्तै छ । यस्तोमा यो समूहलाई मृत्युदण्डको सजाय सुनाइए जस्तो भएको छ । भाग्न खोज्ने मानिस तीव्र बमबारीका कारण उम्कन सकेका छैनन् । 

भागेर जाने क्रममा यात्रामा बचेका मध्य र दक्षिणी गाजाको भिडभाड भएका क्षेत्रमा पुग्नेछन् । त्यहाँ उनीहरूले न त सुरक्षा पाउनेछन्, न त उनीहरूलाई बाँच्नका लागि आवश्यक आधारभूत कुरा नै उपलब्ध हुनेछ । लगभग दुई वर्षको चरम क्रूरताले चरम पीडामा धकेलिएका गाजावासीले विपत्तिको सामना गर्नुपरेको छ । गाजामा जे भइरहेको छ, त्यो केवल मानवीय विपत्ति मात्र होइन । यो मानिसको व्यवस्थित विनाश हो । यस विपत्तिबारे ‘डाक्टर्स विदाउट बोडर्स’ स्पष्ट छ की इजरायलले गाजामा प्यालेस्टिनीविरुद्ध पूर्ण दण्डहीनताका साथ नरसंहार मच्चाइरहेको छ । 

गाजामा युद्धका कारण मानव मृत्युको संख्या डरलाग्दो छ । गाजाको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २० हजार बालबालिकासहित ६४ हजराभन्दा बढी मानिस मारिएका छन् । अस्पताल, विद्यालय र घरहरूको भग्नावशेषमुनि धेरै मानिस फसेकाले वास्तविक मृत्युको संख्या बढी हुन सक्छ । गाजामा कहीँ पनि सुरक्षित स्थान छैन । घरमा आश्रय लिँदा सम्पूर्ण परिवारको कत्लेआम गरिएको छ । बिरामीको हेरचाह गर्दा स्वास्थ्यकर्मी मारिएका छन् । पत्रकारलाई सत्यको साक्षी बनेको भन्दै निसाना बनाइएको छ । इजरायली सेनाले गाजामा सबै स्थान र सबैमाथि आक्रमण गरेको छ । 

खुला युद्धभूमिमा प्रयोग गर्न डिजाइन गरिएका उच्च–तीव्रताका हतियार ( जुन संयुक्त राज्य अमेरिका र युरोपेली सरकारले इजरायललाई बेचेका हुन्) घना बस्ती भएका सहरी क्षेत्रमा प्रयोग भइरहेको छ । परिणामस्वरूप हामी विनाशकारी चोटपटकको उपचार गरिरहेका छौँ । इजरायली अधिकारीले व्यवस्थित रूपमा गाजाको स्वास्थ्य सेवा प्रणालीलाई लक्षित गरेका छन् । अस्पतालमा बम विस्फोट, चिकित्सा सुविधामा छापा मार्ने र कर्मचारी र बिरामीको जीवनलाई खतरामा पार्नेलगायत युद्ध अपराधका कार्य भएका छन् । 

अस्पतालमा बिरामीको थेग्ने नसक्ने चाप र स्रोतसाधनको अभाव छ । बिरामी बेसहारा बनेका छन् र मृत्युवरण गरिरहेका छन् । हाम्रा बाह्र सहकर्मी मारिएका छन् । एमएसएफ अर्थोपेडिक चिकित्सक डा. मोहम्मद ओबेद अक्टोबरदेखि इजरायलको हिरासतमा छन् । अहिलेसम्म जम्माजम्मी १५ सयभन्दा बढी स्वास्थ्यकर्मी मारिएका छन् । घाइते परिवार र गाजाको घेराबन्दीमा परेको स्वास्थ्य प्रणालीका लागि त्यो एक विनाशकारी क्षति हो ।

नरसंहार युद्धको प्रभाव प्रत्यक्ष आक्रमणभन्दा बाहिर फैलिएको छ । इजरायली अधिकारीले जानाजानी गाजालाई उकुसमुकुस बनाएका छन् । पूर्ण घेराबन्दी गरेका छन् । इन्धन, पानी, खाना र चिकित्सा आपूर्तिमा गम्भीर प्रतिबन्ध लगाएका छन् । सुनियोजित भोकमरीसहित सामूहिक दण्डको नीतिले आफ्नो क्रूर उद्देश्य हासिल गरेको छ । अनिकाल घोषणा गरिएको छ । गाजामा हाम्रा क्लिनिकमा हालै गरिएको एक सर्वेक्षणले देखाएको छ कि २५ प्रतिशत गर्भवती वा स्तनपान गराउने महिला कुपोषित थिए ।

उपलब्ध सीमित खाद्य सहायतालाई समेत हतियार बनाइएको छ । इजरायलद्वारा सञ्चालित अमेरिकी वित्त पोषित अभियानले १४ सयजनाको मृत्यु र चार हजारजना घाइते बनाएको छ । खाना लिन जाँदा छातीमा गोली लागेका बालबालिका र भागदौडमा कुल्चिएका वा निसास्सिएका मानिसको हामीले उपचार गरेका छौँ । क्रूरताको यो स्तर अविवेकी छ । पानीको नियोजित अभावले रोगलाई बढावा दिइरहेको छ । गत महिना एमएसएफले चार हजारजनालाई झाडापखालाको उपचार गर्‍यो । एमएसएफले सफा पिउने पानीको आपूर्ति बढाउन सक्ने भए पनि वितरणमा रोक लगाइएको छ ।

यसबिच नियन्त्रित पश्चिम किनारमा राज्यद्वारा गरिएको हिंसा तीव्र गतिमा बढिरहेको छ । पश्चिम किनारको जनसांख्यिकीय संरचना परिवर्तन गर्न बनाइएका नीतिहरूको अंशको रूपमा जग्गा चोरी, जबर्जस्ती विस्थापन र समुदायमाथि आक्रमण तीव्र हुँदै गइरहेका छन् । इजरायललाई राजनीतिक, सैन्य वा भौतिक वा मौन समर्थन गरेका विश्वभरका सरकार नरसंहारमा संलग्न छन् । प्रतिक्रिया दिन उनीहरूको नैतिक र कानुनी दायित्व छ । यसको अर्थ यी अत्याचार रोक्न उपलब्ध हरेक राजनीतिक, कूटनीतिक र आर्थिक उपाय उपयोग गर्दै वास्तविक राजनीतिक दबाब दिनु हो, खोक्रो शब्द होइन ।

राज्यहरूले तुरुन्तै युद्धविराम सुनिश्चित गर्नुपर्छ । घेराबन्दी हटाउनुपर्छ र इजरायली अधिकारीले ठुलो मात्रामा स्वतन्त्र मानवीय सहायताको तत्काल र निर्बाध वितरणका लागि अनुमति सुनिश्चित गर्नुपर्छ । चिकित्सा सुविधा र स्वास्थ्यकर्मीलाई सुरक्षित राख्नुपर्छ । मानिसको ठुलो मात्रामा जबर्जस्ती विस्थापन बन्द गर्नुपर्छ । छोड्न चाहने मानिस र विशेषज्ञ हेरचाहको तत्काल आवश्यकता भएका बिरामीलाई बाहिर निकाल्न अनुमति दिन सिमाना खोल्नुपर्छ । अक्टोबर २०२३ मा हमासले गरेका आक्रमण भयानक थिए । मनमानी हिरासतमा राखिएका प्यालेस्टिनीसित बाँकी रहेका सबै बन्दीलाई पनि घर फर्कन अनुमति दिनुपर्छ । प्यालेस्टिनीको लागि आक्रोश र ऐक्यबद्धता व्यक्त गर्ने देशले अरूलाई काम गर्नका लागि राजनीतिक दबाब दिनैपर्छ ।

हरेक दिन गाजामा काम गर्ने हाम्रा एक हजार ११८ सहकर्मीले विनाशकारी वास्तविकताको सामना गर्छन् । उनीहरूले नरसंहार रोक्न सक्दैनन् । तर, विश्व नेताहरूले कदम चाल्न चाहे भने यो नरसंहार रोक्न सक्छन् । यो अथक र चरम हिंसाको दुई वर्षको वार्षिकोत्सव नजिकिँदै गर्दा यसलाई अन्त्य गर्न आवश्यक राजनीतिक विकल्पको प्रयोग गर्न अब धेरै ढिलो भइसकेको छ ।

लकइयर ‘डाक्टर्स विदाउट बोडर्स’का महासचिव हुन् ।
– अलजजिराबाट