
गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष तथा उद्यमी डा. उपेन्द्र महतोले देशभित्र र बाहिर रहेका सबै नेपालीलाई हातेमालो गरेर सुरक्षित र समृद्ध मुलुक निर्माणमा जुट्न आह्वान गरेका छन् ।
देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखी जेन–जीले गरेको आन्दोलनपश्चात् भएको क्षति बिर्सेर पुनर्निर्माणमा जुट्नुपर्ने र आवश्यक स्रोत जुटाउन देश–विदेशका नेपालीले सक्दो सहयोग गर्नुपर्ने बताएका छन् ।
एक विज्ञप्ति जारी गर्दै डा. महतोले संसारभरि छरिएर रहेका नेपालीले संगठति भएर जुट्नुपर्ने आवश्यकता रहेको बताएका छन् । ‘हतोत्साही नभई निर्धक्क भएर नेपालमा अझ धेरै लगानी लिएर आउनुहोस् ।
हाम्रा महत्वपूर्ण संरचनाको फेरि सिर्जना गर्नुपर्नेछ, अझ जुर्मुराएर उठ्नु छ,’ विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘जेन–जीले परिकल्पना गरेको समृद्ध नेपालमा शान्ति र विधिको शासन स्थापित हुनेछ भन्नेमा विश्वास गरौँ ।’ आन्दोलनका क्रममा उनको घरसमेत जलेको थियो ।