
दिप्रुङ चुइचुम्मा गाउँपालिका– ४, बतासेकी २७ वर्षीया रेश्मिका सिवा परियारको बलात्कारपछि हत्या भएको आशंकामा शव परीक्षणका लागि धरान पठाइएको छ। स्थानीय अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका बतासेको ह्याकुले र रमितेडाँडाको बिचमा पर्ने मार्से सामुदायिक वनमा भदौ ३० गते राति शंकास्पद अवस्थामा मृत फेला परेपछि सर्जमिन मुचुल्का गरेर शव परीक्षण गर्न धनानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको हो ।
सहकारीका अध्यक्ष सागर तामाङका अनुसार भदौ ३० गते अपराह्न आफ्नो काम सकेर कार्यालयबाट हिँडेकी रेश्मिका राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा सोही राति ९ बजे सडकभन्दा करिब १५० मिटर तल झाडीमा मृत फेला परेकी थिइन् । कामका लागि गएकी एक छोरीकी आमा रेश्मिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीयले तत्काल अपराधी पत्ता लगाएर कडाभन्दा कडा कानूनी कारबाही गर्न माग गरेका छन्।
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भएको घटना शंकास्पद भएकाले शव परीक्षण गर्न सुविधायुक्त अस्पताल धरान पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताए । ‘घटनास्थलको प्रकृति हेर्दा रेश्मिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने अनुमान गरिएको छ। जिल्लामा त्यस्तो अवस्थाको शव परीक्षण गर्ने उपकरण तथा स्वास्थ्यकर्मी छैन,’ उनले भने, ‘हामीलाई छिटोभन्दा छिटो शव परीक्षण प्रतिवेदन चाहिएको छ। मृतकको शव ढिलो परीक्षण गर्दा प्रमाण नष्ट हुन्छ । प्रमाण नष्ट भएको खण्डमा दोषी उम्कने सम्भावना हुन्छ । त्यसैले छिटो शव परीक्षण प्रतिवेदन प्राप्त गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छौँ ।’
तराई घर भएका माइती पक्ष आउन ढिला भएकाले राति अबेर मात्र सर्जमिन मुचुल्का गरेर ट्याक्टरमार्फत धरान पठाइएको प्रनाउ बुढाथोकीले जानकारी दिए । मृतकको शव परीक्षणमा पठाउन तथा घटनाबारे अनुसन्धान गर्न प्रनाउ बुढाथोकी नेतृत्वको टोली भदौ ३० गते रातिबाटै दिप्रुङ चुइचुम्मा गाउँपालिकामा खटिएका छन् ।