Skip This
सक्रिय बन्दै दलहरू
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सक्रिय बन्दै दलहरू

देउवा उपचाररत, ओली सैनिक ब्यारेकमा, प्रचण्ड पुगे पार्टी कार्यालय, नेपाल जलाइएका घर अवलोकनमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:१३:oo
  • कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल पार्टी समन्वयमा, माओवादी अध्यक्ष प्रचण्ड आफैँ सक्रिय 

जेन–जी आन्दोलन उत्कर्षमा पुगेसँगै २४ भदौदेखि असुरक्षित भएर भर्चुअल माध्यममा सीमित रहेका प्रमुख राजनीतिक दल बिस्तारै सक्रिय भएका छन् । विघटित संसद्का प्रमुख दल कांग्रेस, एमाले, माओवादीका गतिविधि भर्चुअल माध्यमबाट बाहिर आउन थालेको छ । माओवादी अध्यक्ष प्रचण्ड आन्दोलनपछि पहिलोपटक मंगलबार पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । एमाले अध्यक्ष केपी ओली सैनिक सुरक्षाबाट बाहिर आउन सकेका छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवा सैनिक अस्पतालमा उपचाररत छन् । 

देउवा भर्चुअल रूपमा पनि सक्रिय हुने अवस्थामा छैनन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले २७ भदौमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक भर्चुअल माध्यमबाट बोलाए । प्रदेश सभापति, मुख्यमन्त्रीहरू तथा प्रदेश संसदीय दलका नेताहरू सहभागी बैठकले संसद् विघटन गर्ने राष्ट्रपतिको कदमको विरोध गरेको थियो । कांग्रेसले सबै दलसँग संवाद अघि बढाउने निर्णय गरेको थियो, तर पार्टीको आन्तरिक जीवनबारे निर्णय गरेन । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी कार्यालय सानेपाको भ्रमण गरेका छन्, केन्द्रीय सदस्य प्रदीप पौडेलले जेन–जी आन्दोलनका घाइतेसँग भेट गरेका छन् । तर, कांग्रेसको आन्तरिक पार्टी जीवन सक्रिय हुन सकेको छैन ।

‘हाम्रो पार्टी अहिलेसम्म गम्भीर आघातको अवस्थामा छ,’ कांग्रेस नेता एनपी साउदले भने, ‘कार्यसम्पादन समितिको बैठक बसेको छ । तर, अब जेन–जी आन्दोलनका मागलाई अपनत्व लिने र अन्य दलहरूसँग छलफल गरेर साझा धारणा बनाउन काम गर्नुपर्नेछ ।’

प्रधानमन्त्रीबाट राजीनामा दिएसँगै असुरक्षित एमाले अध्यक्ष ओली सेनाको सुरक्षामा छन् । एमालेका महासचिव शंकर पोखरेललगायत सीमित नेतासँग मात्रै उनको सम्पर्क छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महासचिव पोखरेलले अहिले पार्टीमा समन्वय गरिरहेका छन् । ‘पार्टी महासचिव शंकर पोखरेलले अहिले पार्टीमा समन्वय गरिरहनुभएको छ । केन्द्र, प्रदेश र जिल्लासम्म समन्वय भइरहेको छ । संविधान दिवस (३ असोज) भव्य रूपमा आयोजना गरेर पार्टीलाई थप सक्रिय बनाउँदै छौँ,’ गौतमले भने, ‘पार्टी जीवन पहिलेको अवस्था (२३ भदौअघि)मा पुग्न समय लाग्छ । हामी प्रयासरत छौँ ।’

माओवादी अध्यक्ष प्रचण्ड जेन–जी आन्दोलनसँगै बढ्दो असुरक्षामाझ सेनाको सुरक्षामा थिए । दुई दिनअघि सैनिक सुरक्षाबाट बाहिर निस्केका प्रचण्डले मंगलबार पार्टी कार्यालय पेरिसडाँडाको भ्रमण गरे । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेता र कार्यकर्तामाझ प्रचण्डले पार्टी कार्यालय भवन निर्माण गर्ने उद्घोष गरे । ‘परिस्थिति सहज हुँदै गएको र अध्यक्ष फर्किसकेपछि अब पार्टीका गतिविधि अगाडि बढ्छन्,’ माओवादीका एक पदाधिकारीले भने ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयसहित क्षति पुगेका नेताको घरको अवलोकन गरेका छन् । कोटेश्वरस्थित आफ्नै निवास, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेताहरू जीवनराम श्रेष्ठको निवास अवलोकन गरेका छन् । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेलसहित नेताहरू अग्नि खरेल र रघुजी पन्तको घरको पनि नेपालले अवलोकन गरेका छन् । नेपालले नेताहरूसँग छलफलसमेत थालेका छन् ।