
सिन्धुलीका दीपेश सुनारले २३ भदौको बिहान आमा भीममायालाई फोन गरे । फोनमा भनेका थिए– मम्मी, आज एकछिन बानेश्वर जानु छ, बेलुका फोन गर्छु । ‘हुन्छ, ख्याल गर है !’ यति भनेर भीममायाले फोन राखेकी थिइन् । तर, छोराको वचनअनुसार बेलुकी फोन आएन । छोराको फोनै नआई अरू चार दिन, चार रात बिते ।
भीममायाले दीपेशलाई काठमाडौंमा पढ्न पठाएकी थिइन् । उनी ललितपुर महानगरपालिकामा सरसफाइको काम पनि गर्थे । भीममायाले नगरपालिकामा पनि फोन गरेर सोधिन् । काठमाडौंमा बस्ने भएभरका आफन्तलाई पनि फोन गरिन् । तर, छोरा कहाँ छन्, थाहा लागेन । दीपेश सम्पर्कविहीन भएपछि उनको मन जल्न थाल्यो । कतै जेन–जी आन्दोलनमा तलमाथि त भएन ? शंका लाग्न थाल्यो ।
२८ भदौमा रन्थनिँदै उनी काठमाडौं आइपुगिन् । दुई दिनसम्म छोराको कुनै अत्तोपत्तो लागेन । सोमबार (३० भदौ) अज्ञात नम्बरबाट फोन आयो– तपाईंको छोरा त्रिवि शिक्षण अस्पतालमा छन्, भोलि आउनू । अस्पतालमा आउनु भनेपछि पक्कै छोराको उपचार हुँदै होला भनेर केही आशावादी पनि भइन् । तर, मंगलबार बिहान अस्पताल पुग्दा दृश्य फरक थियो । २३ भदौको बिहान कुरा हुँदा बेलुकी फोन गर्छु भनेका दीपेशलाई बाकसमा राखिएको थियो । उनी भावविह्वल भइन् । आफन्तले सम्झाइबुझाई गर्दै शव जिम्मा लिए । दीपेशसहित १० सहिदको शवयात्रा भयो । दीपेशको पशुपति आर्यघाटमै अन्त्येष्टि गरियो ।
दिउँसो १:३० बजे शिक्षण अस्पतालको फरेन्सिक विभागको गेटबाहिर सन्नाटा थियो । जेन–जी आन्दोलनका सहिदका आमाहरू भीममायाजस्तै आँसुमा डुबेर शव कुरिरहेका थिए । उपस्थित परिवारका अन्य सदस्यको आँखामा पनि टिलपिल टिलपिल आँसु थियो, कोही डाँको छाडेर रुँदै थिए ।
२३ र २४ भदौको जेन–जी आन्दोलनमा सरकारको बर्बर दमनमा कलिला युवाको जीवन खोसियो । विद्यार्थी डे«समै रहेकामाथि समेत टाउको र छाती ताकी–ताकी गोली प्रहार भयो । जबकि, उनीहरूको माग थियो– देश भ्रष्टाचारमुक्त होस्, देशमा सुशासन छाओस् ।
त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर राखिएका संखुवासभाका २१ वर्षीय प्रवीण कुलुङ, उदयपुरका २९ वर्षीय सन्तोष विक, सिराहाका ३२ वर्षीय विजय चौधरी, काठमाडौंका २३ वर्षीय रसिक खतिवडा, कैलालीका २१ वर्षीय गौरव जोशी, उदयपुरका सारकुमार राई, ललितपुरका ३४ वर्षीय विनोद महर्जन, सिन्धुलीका २३ वर्षीय दीपेश सुनार र धनकुटाका ६० वर्षीय छत्रमान कुथुमीको शव मंगलबार आफन्तको जिम्मा लगाइएको छ । यी नौ र भक्तपुरबाट ल्याइएका साजन राई गरी १० सहिदको शव गाडीमा राखेर पशुपति आर्यघाटसम्म शवयात्रा भयो । बाकसमा कसैका छोरा थिए, कसैका श्रीमान्, कसैका दाजुभाइ । शवमा माला र राष्ट्रिय झन्डा ओढाइएको थियो, गाडीको अगाडि सहिदहरूको तस्बिर टाँसिएको थियो । उनीहरूका आफन्तलाई अर्कै गाडीमा चढाइएको थियो । अघिपछि आफन्त, सुरक्षाकर्मी र बिचमा शव बोकेको गाडी राखेर चक्रपथ हुँदै शवयात्रा गरिएको थियो ।
सहिद साथीलाई श्रद्धाञ्जली दिन सयौँको संख्यामा जेन–जी युवाको उपस्थिति थियो । शवयात्राभर उनीहरू सहिद साथीको सम्मान र राज्यमाथि खबरदारी गर्दै थिए, ‘सबै सहिद अमर रहून्, सहिदका सपना पूरा गरियोस् ।’
शवयात्रा पशुपति आर्यघाट पुग्दा गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङलगायत उपस्थित थिए । आर्यघाटनजिकै राष्ट्रिय सम्मानसहित पार्थिव शरीरमा देशको झन्डा ओढाइयो । पशुपति आर्यघाटमा दाहसंस्कार गर्न लागिएका सहिदका परिवार र आफन्तलाई अन्तिमपटक अनुहार देखाइयो । उनीहरू शवलाई अँगालो हालेर डाँको छाड्दै रोए । चार शव पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कारको प्रक्रियामा लगियो, अरूलाई विभिन्न जिल्लास्थित घर पठाइयो ।
जेन–जी प्रदर्शनमा सहादत प्राप्त गर्नेमध्ये अधिकांश ३० वर्षमुनिका छन् । धेरैलाई गोली लागेको छ । केहीको भागदौड, लडेर र जलेर मृत्यु भएको थियो । २३ भदौमा १९ जनाको मृत्यु भएको थियो । २४ भदौमा थप दमन हुँदा अकल्पनीय मानवीय क्षति भयो ।
त्रिवि शिक्षण अस्पतालले अहिलेसम्म ३९ शव जिम्मा लगायो, ७ नचिनिने अवस्थामा
त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जेन–जी प्रदर्शनपछि फरेन्सिकका लागि ४६ शव आएको र त्यसमध्ये ३९ शव जिम्मा लगाइएको बताए । तर, अस्पतालमा आएका ७ शव भने नचिनिने अवस्थामा जलेको उनले बताए । यी मृतकका आफन्त अस्पतालको सम्पर्कमै नआएको अस्पतालले जनाएको छ । जेन–जी प्रदर्शनमा हराएका व्यक्तिका आफन्तलाई अस्पतालले सूचना निकालेर सम्पर्कमा आउन भनेको छ । ‘हामीले मंगलबार ९ सहित ३९ शव जिम्मा लगायौँ, अन्य ७ शवको नचिनिने अवस्था छ,’ चौधरीले भने । जेन–जी प्रदर्शनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको तथ्यांक छ । १२ घाइते आइसियूमा छन् । १९६ घाइतेको सर्जरीपछि जनरल वार्डमा उपचार भइरहेको छ ।