Skip This
इजरायली बन्दुकसँग नझुकेको गाजाको पत्रकारिता
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
Invalid date format ११:oo:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इजरायली बन्दुकसँग नझुकेको गाजाको पत्रकारिता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:oo:oo

मैले पहिलोपटक गत वर्षको जुलाईमा अल जजिराको गाजा टोलीका प्रमुख तामेर अलमिसाललाई भेटेकी थिएँ । उनको टोलीले हालै दुई पत्रकार हमजा अल–दहदौह र समेर अबु दक्काको शवको अन्त्येष्टि गरिसकेको थियो । टोलीका बाँकी पत्रकार भोकमरीले ग्रस्त थिए । टोलीका सदस्यले इजरायली रक्षा बल (आइडिएफ)बाट बारम्बार धम्की र आफ्नो परिवारका सदस्यको हत्याको सामना गरिरहेका थिए । स्माइल अल–घौलले महिनौँदेखि आफ्नी श्रीमती र बच्चा देख्न पाएका थिएनन्, उनीहरूलाई निकै ‘मिस’ गरेका थिए । त्यस्तै, अन्य पत्रकार होसम सबात, मोहम्मद कुरैकिया र अनस अल सरिफले रिपोर्टिङ सुरु गर्नुअघि बिहानको खाना सुरक्षित गर्न समय मागिरहेका थिए । अफसोच ! आज, तिनीहरू सबैको मृत्यु भइसकेको छ ।

श्रीमती, तीन छोराछोरी र नाति गुमाएका गाजाका अनुभवी पत्रकार वायल अल दहदौहको प्रोफाइल लेख्दै गर्दा मैले गाजा टोलीका विभिन्न सदस्यसँग कुराकानी गरेकी थिएँ । विभिन्न जोखिमका बाबजुद आफ्नो कर्तव्य पूरा गर्नुपर्ने उनीहरूको भनाइ थियो । त्यस टोलीका तीन सदस्य त्यसपछि भएका हत्याको शृंखलामा मारिएका छन् । मैले प्रत्येकपटक समवेदना पठाउँदा प्रतिक्रिया सधैँ यो थियो कि युद्धको कभरेज बन्द हुनेछैन । ‘हामी युद्धबारे समाचार निरन्तर समेट्नेछौँ,’ सरिफ, मोहम्मद नोफल, इब्राहिम थाहेर र क्रायकियाको ज्यान लिने गरी भएका हमलामा आफ्नो सम्पूर्ण टोली गुमाएपछि अलजजिराका सम्पादकले गत हप्ता मलाई भने, ‘हामी उनीहरूको सन्देश वा उनीहरूको अन्तिम इच्छालाई धोका दिनेछैनौँ ।’

यी हत्याले संसारलाई चकित पारेको छ । तर, इजरायलीको भनाइमा मारिएकामध्ये केही पत्रकार ‘आतंकवादी’ थिए । गाजामा पत्रकारिताको क्षमताबारे थोरै मात्र भनिएको छ । असम्भव परिस्थितिमा पनि गाजाका पत्रकार धाराप्रवाह, स्पष्ट र स्थिर छन् । तिनीहरूले दैनिकजसो आक्रमण हुने सैन्य आधारमा भएका भयानक घटना र पीडा कैद गर्न पोख्त छन् र आफूलाई शान्त राख्न प्रयत्नशील छन् । म प्राय: तिनीहरूका शब्दलाई अंग्रेजीमा अनुवाद गर्न संघर्ष गर्थें, तिनीहरूको अभिव्यक्ति विस्तृत छ ।

गाजामा र त्यहाँबाट आएका पत्रकारसँग कुरा गर्दा मलाई के लाग्छ भने उनीहरू हृदयविदारक रूपमा आदर्शवादी छन् । पत्रकारिता उनीहरूको लागि कर्तव्य थियो, तथापि यसको अर्थ मृत्यु निश्चित थियो । मारिएका सबैसँग विकल्प थियो, जो अझै जीवित छन् र रिपोर्टिङ गरिरहेका छन्, उनीहरूसँग पनि अझै विकल्प छ । आफूलाई विगत दुई वर्षमा इजरायली अधिकारीले धेरैपटक धम्की दिएका सरिफले बताए । उनलाई इजरायली गुप्तचर संस्थाले चेतावनी पठाएको र रिपोर्टिङ बन्द गर्न भनेको थियो । जब उनले अस्वीकार गरे, उनका बुबा हवाई आक्रमणमा मारिए । गत वर्षको सुरुमा घोलले पदभार ग्रहण गर्दा उनलाई कडा चेतावनी दिइएको थियो । पद छाडेर घर गए, उनलाई केही नगर्ने सुझाइएको थियो । तर, उनले चेतावनी बेवास्ता गरे । फलस्वरूप लक्षित हमलामा उनको शिर काटियो ।

इजरायली सरकारबाट भएका पत्रकारको शृंखलाबद्ध हत्या केवल घृणित रिपोर्ट र फुटेजको प्रवाह रोक्नु मात्र होइन, बरु मिडिया पेसेवरले दिने प्यालेस्टिनीहरूको तस्बिरलाई नै नष्ट पार्नु हो । गाजाका पत्रकारले आफ्ना रिपोर्ट र सामाजिक सञ्जाल पोस्टमा विश्वसनीयता कायम गर्नुपर्छ । गाजा लडाकुले भरिएको ठाउँ हो, जहाँ कुनै भरपर्दो कथावाचक छैनन् र हत्या र भोकमरीका लागि इजरायलको औचित्यलाई साक्षीले चुनौती दिन सक्दैनन्, जसका कारण इजरायलले आफ्नो नरसंहार अभियानलाई त्यति नै सजिलै सञ्चालन गर्छ । 

प्लस ९७२ म्यागजिन र लोकल कलले हालै गरेको संयुक्त अनुसन्धानले इजरायली सेनाको एकाइ ‘वैधीकरण सेल’लाई भयानक नाम दिइएको पहिचान गरेको छ, ‘इजरायलले पत्रकारको हत्या गरेकामा बढ्दो विश्वव्यापी आक्रोशलाई कम गर्न गाजामा रहेका पत्रकारलाई हमासका गोप्य कार्यकर्ताको रूपमा चित्रण गरेको प्रतिवेदनमा उल्लेख छ । अनुसन्धान स्रोतका अनुसार ‘गाजामा रहेका पत्रकारले विश्वसामु इजरायलकोे नाम बदनाम गरिरहेको’ प्रतिवेदनमा जनाइएको छ ।

आइडिएफका अनुसार ‘शंकास्पद रूपमा अगाडि बढिरहेको’ कारणले आपत्कालीन कामदारलाई समेत मृत्युदण्ड–शैलीले नियन्त्रणमा लिइएको थियो । उता सहायताका लागि कतारमा लाइनमा बसेका प्यालेस्टिनीलाई इजरायली सेनाले नभई हमासले गोली हानेको इजरायलले दाबी गरेको छ ।

इजरायलले प्रणालीगत छल गरेको छ । अझै पनि हामीलाई भनिएको छ कि इजरायलले त्यस्ता पत्रकारलाई मारेको छ, जो लडाकु थिए ।

सत्य यो हो कि गाजाका पत्रकारलाई पश्चिमी मिडियाका धेरै सहकर्मीले व्यापक असफल बनाएका छन्, केवल उनीहरूको हत्याको रिपोर्ट गर्ने तरिकामा मात्र होइन, बरु सम्पूर्ण द्वन्द्वलाई कसरी वर्णन गरिन्छ भन्ने सन्दर्भमा । गाजामा मृत्यु भएका र भोकमरीले पीडितको तथ्यांक प्राय: ‘हमासद्वारा सञ्चालित’ मन्त्रालयबाट आएको रूपमा वर्णन गरिन्छ । तर, इजरायली अधिकारीबाट आउने बयानलाई तपाईंले क्रमिक रूपमा अविश्वसनीय रूपमा सावधान गरिएको वा बेन्जामिन नेतन्याहुको नामसँग जोडिएको ‘अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा खोजिएको’ वाक्यांश देख्नुहुन्न । स्मरण होस्, अन्तर्राष्ट्रिय फौजदारी अदालतले नेतन्याहुलाई यसअघि नै पक्राउ पुर्जी जारी गरेको छ । यसैबिच, प्यालेस्टिनी पत्रकारको शब्द कहिल्यै पर्याप्त हुँदैन, जबसम्म विदेशी मिडिया (जसलाई गाजामा प्रवेश गर्न अनुमति छैन) ले अन्तिम सुनौलो मानकको फैसला दिन सक्दैन । तिनीहरूलाई (प्यालेस्टिनी पत्रकारलाई) पत्रकारिताको ढाँचाबाट बाहिर निकालिन्छ, तिनीहरूले उजागर गरेको सत्यत्य तिनीहरूको शवसँगै गाडिन्छ ।

जे भए पनि गाजामा सधैँ कोही न कोही साहसी र स्पष्ट आँखा भएको व्यक्ति हुनेछ, जसले आक्रमणको कभरेज र सत्यलाई निरन्तरता दिनेछ । उनीहरूको आवाज र सास घेरिएको भए पनि गाजामा भएका घटनाको वास्तविकता संसारलाई बुझाउने जिम्मेवारी उनीहरू एक्लै वहन गरिरहेका छन् ।

गार्जियनबाट

मलिक गार्जियनकी स्तम्भकार हुन् ।