
२४ भदौमा देशभर फैलिएको जेन–जी आन्दोलनका क्रममा सयौं सरकारी कार्यालय तोडफोड र आगजनी भए । सातै प्रदेशका स्थानीय, प्रदेश र संघीय सरकारी कार्यालय क्षतिग्रस्त बनेका छन् । आन्दोलनकारीले मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालयमा गरेको आगजनीबाट खण्डहरमा परिणत भएका छन् । कोशी र कर्णाली प्रदेशका मुख्यमन्त्री कार्यालयमा आंशिक क्षति भएको छ । बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालय भने जोगिएको छ ।
जेन–जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडका कारण अस्तव्यस्त मधेश प्रदेश सरकार शून्यबाट उठ्ने प्रयासमा छ । प्रदेश प्रमुख कार्यालयदेखि प्रदेश सभा भवनसम्ममा पूर्ण रूपमा क्षति भएको छ । प्रदेश सरकारलाई तत्काल दुईवटा ठुलो चुनौती देखिएको छ । पहिलो, जेन–जी आन्दोलनका क्रममा प्रदेश प्रमुख कार्यालयदेखि प्रदेश सभा सचिवालयको भवनमा भएको आगजनी तथा तोडफोडले पूर्ण रूपमा ध्वस्त भौतिक पूर्वाधारको वैकल्पिक व्यवस्था गरेर सरकार सञ्चालन गर्नु र अर्को जेन–जी आन्दोलनकै क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएकाले नयाँ सरकार गठन गर्नुपर्नेछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र श्रम तथा यातायात मन्त्रालय जलेर खरानी भएका छन् । भौतिक पूर्वाधार र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमा आगजनी तथा तोडफोड गरिए पनि अधिकांश कागजात जोगिएको छ । शिक्षा तथा सांस्कृतिक मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालयको भवनमा आगजनी नगरिए पनि फर्निचरलगायत सामान बाहिर ल्याएर अराजक समूहले जलाएर नष्ट गरेका छन् । अर्थ, स्वास्थ्य, उद्योग, वन तथा वातारण, गृह सञ्चार तथा कानुन र खेलकुद तथा समाज कल्याण मन्त्रालयमा सामान्य क्षति भएको छ ।
मधेश भवनपरिसरमा रहेका अधिकांश सवारीसाधन जलाइएको छ । एक कर्मचारीका अनुसार मधेश भवनपरिसरभित्र रहेका सचिव तथा मन्त्रालयका ३६ वटा गाडी पूर्ण रूपमा जलेर खरानी भएका छन् । एक दर्जनभन्दाभन्दा बढी गाडीमा तोडफोड गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयपरिसरभित्र रहेका ६ वटा गाडी पूर्ण रूपमा जलेका छन् । मन्त्रालयहरूको मोटसाइकल पनि जलेर नष्ट भएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लालबाबु कवाडीले भने, ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएको छ । बाहिरबाट भौतिक संरचनादेखि बाँकी देखिन्छ, तर भित्र बस्न सक्ने अवस्था छैन । न कुनै फर्निचर बाँकी छन्, न त कुनै कागजात नै । कोठामा भित्ताहरू कालो देखिएका छन्, कुन वेला खस्छ ठेगान छैन ।’
अन्य मन्त्रालयहरूले पनि आ–आफ्ना क्षति यकिन गरिरहेका छन् । ‘जुन मन्त्रालयमा आगजनी भएको छ, बस्ने अवस्था नै छैन भने ती मन्त्रालयहरूलाई वैकल्पिक व्यवस्था गरेर सेवा प्रवाह गर्न निर्देशन गरिएको छ ।
गण्डकीका सय सरकारी र ७२ अन्य संरचनामा क्षति
कस्की/ आन्दोलनका कारण गण्डकी प्रदेशका ११ मध्ये ६ जिल्लामा असर परेको छ । प्रदेशका ११ मध्ये चार जिल्लाका सरकारी कार्यालय, ६ जिल्लामा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रदर्शनका कारण चार जिल्लाका सय सरकारी कार्यालय र ६ जिल्लामा ७२ निजी भवन, कार्यालय, व्यवसायलगायत संरचनामा क्षति पुगेको छ । सबैभन्दा धेरै असर कास्की जिल्लामा देखिएको छ । आगजनीका कारण कास्कीका ७२ सरकारी कार्यालय र २८ निजी सम्पत्तिमा क्षति पुगेको छ ।
मुख्यमन्त्री र मन्त्रीका सरकारी कार्यालय एवं निवासदेखि वडा कार्यालय, निजी घर, विभिन्न होटेलमा आगजनी र तोडफोड भएका थिए । मुख्यमन्त्री कार्यालय ध्वस्त भएको छ । मुख्यमन्त्री कार्यालयसँगै जोडिएको नवनिर्मित अर्को भवन र आवासमा पनि आगजनी गरिएको छ । प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा आगजनीपछि मेयर धनराज आचार्यको निजी घरमा पुगेर तोडफोड गरेका थिए । पार्टी कार्यालय, निजी घरदेखि उद्योगमा समेत आगजनी भएको छ ।
खरानी मात्र बाँकी छ सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा
धनगढी/ जेन–जीको आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय पनि आन्दोलनकारीको निसानामा पर्यो । मुख्यमन्त्री कार्यालय जलेर खण्डहर बनेको छ । आगजनीबाट कार्यालयको पहिलो र दोस्रो तला लगभग खरानी बनेको छ । तेस्रो तलामा पनि क्षति पुगेको छ । पहिलो तलामा रहेको मुख्यमन्त्री कमलबहादुर शाहको कार्यकक्ष पूर्ण रूपमा ध्वस्त बनेको छ । कार्यकक्षको कुनै अवशेष देखिँदैन । सोही तलामा रहेका स्वकीय सचिवालयका कर्मचारीका कार्यकक्ष पनि पूर्ण रूपमा खरानी बनेका छन् । कर्मचारीका कार्यकक्ष र बैठक कक्षसहित भुइँतलामा पनि आगजनीबाट केही बाँकी छैन । सबै जलेर नष्ट भएकाले कहाँबाट के सुरु गर्ने भन्नेमै कर्मचारी अन्योलमा छन् । ‘केही पनि बाँकी रहेन । सबै जलेर नष्ट भए । सेवा सुरु गर्ने भन्ने छ, तर कहाँबाट के सुरुवात गर्ने भन्ने अन्योलमा छौँ,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता उपसचिव नवराज ओझाले भने । जेन–जी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय कैलालीमा आगजनी गरिँदा करिब दुई लाख थान राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएका छन् ।
बागमतीका नौ मन्त्रालयमा तोडफोड र आगजनी
मकवानपुर/ जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेशका नौ मन्त्रालयमा तोडफोड र आगजनी भएको छ । केही मन्त्रालयमा पूर्ण र केहीमा आंशिक क्षति पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित अन्य पाँचवटा मन्त्रालय भने जोगिएका छन् । मुख्यमन्त्री कार्यालय, उद्योग, वाणिज्य भूमि तथा प्रशासन, वन तथा वातावरण, संस्कृति तथा पर्यटन र युवा तथा खेलकुद मन्त्रालय जोगिएका छन् । आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा योजना, ऊर्जा तथा सिँचाइ, पशुपन्छी तथा कृषि, भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, स्वास्थ्य, सामाजिक र गरिबी तथा सहकारी मन्त्रालयमा भने आगजनी गरिएको छ । जेन–जीको आन्दोलनका क्रममा निसानामा परेका प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आफैँ पनि प्रदेश सरकारका प्रशासनिक संरचना हेर्न आइपुगेका छैनन् । मुख्यमन्त्री बानियाँको हेटौँडा– ५ स्थित निजीनिवास र बानियाँ निर्माण सेवाको कार्यालय तथा हेटौँडा–१९ मा रहेको उद्योग तथा कार्यालयमा आन्दोलनकारीले तोडफोड र आगजनी गरी ध्वस्त पारिदिएका छन् ।
जनकपुरधाममा हदिश खुद्दार, कास्कीमा रोहितराज पराजुली, धनगढीमा तेजराज भट्ट र मकवानपुरमा पोष्टराज अधिकारी