
नेपालले साफ यू–१७ च्याम्पियनसिपमा सोमबार उद्घाटन खेलमा घरेलु टोली श्रीलंकालाई २–० ले हराएको छ । नेपालको जितमा स्ट्राइकर समीर कुमारले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले श्रीलंकाविरुद्ध दुई गोल गरेका हुन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजना भएको यू–१७ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल खेलको २७औँ मिनेटमै १० खेलाडीमा समेटिएको थियो । तर, स्ट्राइकर समीरले श्रीलंकाविरुद्ध दुई गोल गरेपछि नेपालको जित पक्का भयो ।
मोहम्मद इफामले दोहोरो पहेँलो कार्ड पाएका कारण मैदान छाडेका थिए । कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस् कम्पलेक्स’मा नेपालले विपक्षीमाथि झिनोअन्तरले जित निकाले पनि बल पोसेसन राम्रो बनाएको थियो । जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ । अब नेपालले बिहीबार दोस्रो खेलमा बंगलादेशविरुद्ध खेल्ने छ । नेपालले उमेर समूहको च्याम्पियनसिपमा चारपटक फाइनल स्थान बनाएको थियो ।
चारवटै फाइनलमा उपविजेतामा सीमित भयो । प्रतियोगिताको समूह ‘बी’मा साबिक विजेता भारतसहित पाकिस्तान, भुटान र माल्दिभ्स छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । साफ यू–१७ च्याम्पियनसिपको नौ संस्करण भइसक्दा अहिलेसम्म भारतले सर्वाधिक ६ पटक उपाधि जितेको छ । बंगलादेशले दुई तथा पाकिस्तानले एकपटक उपाधि जितेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार समूह ‘बी’का दुई खेल हुनेछन् । पहिलो खेलमा भारतले माल्दिभ्सको सामना गर्नेछ । दोस्रो खेलमा भुटान र पाकिस्तानबिच हुनेछ ।
दोस्रो हाफमा दुई गोल
पहिलो हाफमा श्रीलंकाले नेपाललाई गोल गर्न दिएन । पहिलो हाफमा नेपालले केही राम्रा अवसर सिर्जना गरे पनि गोलमा परिणत भएन । तर, दोस्रो हाफमा नेपालले प्राप्त अवसर गोल गर्दै तीन अंक बटुल्यो । खेलको ५२औँ मिनेटमा समीरले नेपाललाई १–० को अग्रता दिलाए । बायाँ साइडबाट प्रतिश थापामगरले दिएको क्रसमा डिबक्सभित्र अनमार्कमा नरहेका समीरले हेडिङ गोल गरेका थिए । श्रीलंकाली गोलरक्षक साथिन कथाफीले समीरको हेडिङ रोक्ने कुनै अवसर पाएनन् । खेलको अन्तिम इन्जुरी समयमा कुमारले नै नेपाललाई २–० कोअग्रता दिलाए । निश्चल मगरको सुन्दर थ्रु पासमा उनले व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।
नेपालको गोल प्रयास
प्रतिस्पर्धाको ३९औँ मिनेटमा समीरले सहज गोल अवसर खेर फाले । कप्तान प्रशान्त मोक्तानको ‘लङ पास’लाई विपक्षी डिफेन्डर अहमद आमिस वासिमले नियन्त्रण लिन सकेनन् । डिबक्सभित्र बल समीरको अगाडि थियो । उनले प्रहार गरेको बल दोस्रो बारनजिकैबाट बाहिरियो । त्यसपछि उनले नै अर्को मौका खेर फाले । मिडफिल्डर सुशन थापामगरले दायाँ साइडबाट निकालेको पासमा समीरले क्रसबारमाथि बल प्रहार गरे । खेलको ३२औँ मिनेटमा नेपाललाई भाग्यले साथ दियो । श्रीलंकाली मिडफिल्डर जयाथुंगाको पासमा अनमार्कमा रहेका कप्तान इसाकको हेडिङलाई नेपालको गोलरक्षक रामबहादुर बोहराले नियन्त्रणमा लिन सकेनन् । रिबाउन्डमा इसाकले प्रहार गरेको बल दोस्रो बारमा ठोक्किएर बाहिरियो ।