मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format o७:३८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आपतकालमा नेतृत्व गर्ने मन्त्रालय नै ध्वस्त, स्वास्थ्य सेवा र समन्वय प्रभावित

देशैभरका अस्पताल र अन्य स्वास्थ्य संस्थाको नेतृत्व गर्ने मन्त्रालय खरानी हुँदा बैठक बस्ने, योजना तय गर्ने र औषधि तथा उपकरण खरिदजस्ता महत्वपूर्ण प्रक्रिया अघि बढाउन समस्या

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:३८:oo

 १२ वटा एम्बुलेन्स तोडफोड

देशको समग्र स्वास्थ्य प्रणालीकै नेतृत्व गर्ने जिम्मा रहेको स्वास्थ्य मन्त्रालय नै खरानी बनेपछि विषम परिस्थितिमा रणनीति निर्माणदेखि सेवा प्रवाहसम्ममा गम्भीर प्रभाव परेको छ । जेन–जी प्रदर्शनका क्रममा स्वास्थ्य मन्त्रालयसहित ३७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । हाल क्षतिको यथार्थ विवरण संकलन र मुचुल्का तयार गर्ने काम भइरहेको छ ।

सचिव डा. विकास देवकोटाका अनुसार देशैभरका अस्पताल र अन्य स्वास्थ्य संस्थाको नेतृत्व गर्ने मन्त्रालय खरानी हुँदा बैठक बस्ने, योजना तय गर्ने र औषधि तथा उपकरण खरिदजस्ता महत्वपूर्ण प्रक्रिया अघि बढाउन समस्या भएको छ । सरकारले घाइतेको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ, तर मन्त्रालय ध्वस्त हुँदा समन्वयमा कठिनाइ भएको छ । 

मन्त्रालयका सचिव डा. देवकोटाले मन्त्रालयभित्र रहेको कुनै पनि सामग्री बाँकी नरहेकाले समन्वयमा समस्या भइरहेको बताए । उनका अनुसार हाललाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को भवनबाट सेवा प्रवाह गर्ने तयारी भइरहेको छ । मन्त्रालयको पछाडि रहेको एनएचआरसीको भवन जोगिएको छ । ‘मन्त्रालयको कुनै पनि चिज बाँकी छैन । सबै जलेर खरानी भएको छ । मन्त्रालय नभए पनि बाहिरबाटै समन्वयात्मक काम भइरहेको छ,’ उनले भने, ‘टेकुस्थित स्वास्थ्य विभागकोे भवनमा क्षति नभएकाले देशभरि हुने स्वास्थ्य क्रियाकलाप विभागबाट भइरहेका छन् । अहिलेलाई नजिकै रहेको एनएचआरसीको भवनबाट सेवा प्रवाह गर्ने तयारी भइरहेको छ ।’

प्रदर्शनकारीले प्रत्यक्ष रूपमा अस्पतालहरूमा प्रहार नगरेपछि स्वास्थ्यसँग सम्बन्धित भवन तथा प्रशासनिक कार्यालयहरू तोडफोड र आगजनी भएको सचिव डा. देवकोटाले बताए । उनका अनुसार मुख्य गरी बागमती र कोशीका स्वास्थ्य संस्थामा क्षति पु¥याइएको छ । मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग र प्रादेशिक स्तरमा रहेका हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (एचइओसी)हरूका क्षति पुगेको छ । औषधि व्यवस्था विभागको अगाडिको भागमा तोडफोड भएको छ  । हरेकजसो आपत्कालमा रणनीतिक नेतृत्व, समन्वय केन्द्र, स्रोत व्यवस्थापन, अन्तर्राष्ट्रिय सहकार्य, विश्वसनीयताका कारण स्वास्थ्य मन्त्रालय महत्वपूर्ण मानिन्छ । मन्त्रालय ध्वस्त वा निष्क्रिय हुँदा आपत्कालीन स्वास्थ्य प्रणाली असर पर्ने विज्ञहरू बताउँछन् । 

यति मात्र होइन, जेन–जी आन्दोलनका क्रममा १२ एम्बुलेन्स तोडफोड गरिएको छ भने पाँचवटामा एम्बुलेन्समा आगजनी गरिएको छ । प्रदर्शनका क्रममा अराजक समूहले एम्बुलेन्समा प्रहार गरेको थियो । त्यस्तै, कतिपय नेताहरूलाई एम्बुलेन्समा समेत सुरक्षा दिन थालिएको भन्दै एम्बुलेन्समा प्रहार भएको थियो । मन्त्रालय अझै देशभरको क्षति विवरण आउन बाँकी रहेको छ । 

 डा. विकास देवकोटा, सचिव, स्वास्थ्य मन्त्रालय
मन्त्रालयको कुनै पनि चिज बाँकी छैन । सबै जलेर खरानी भएको छ । मन्त्रालय नभए पनि बाहिरबाटै समन्वयात्मक काम भइरहेको छ, टेकुस्थित स्वास्थ्य विभागकोे भवनमा क्षति नभएकाले देशभरि हुने स्वास्थ्य क्रियाकलाप विभागबाट भइरहेका छन् । अहिलेलाई नजिकै रहेको एनएचआरसीको भवनबाट सेवा प्रवाह गर्ने तयारी भइरहेको छ ।