
पूर्वशिक्षामन्त्रीसमेत रहेकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने घोषणा गरेकी छिन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीभित्र निरन्तर भइरहेका गल्ती, नेतामुखी प्रवृत्ति र आलोचकहरूविरुद्धको ‘मिडिया ट्रायल’को विरोधमा राजीनामा दिएको बताएकी छिन्। उनले पार्टीलाई खुलेर आक्रमण गर्न चाहनेहरूलाई सहज बनाउन आफूले बाटो खुलाइदिएकोसमेत उल्लेख गरेकी छिन्।
कांग्रेस, एमालेलगायतका दलका तेस्रो पुस्ताका नेताहरूलाई सम्बोधन गर्दै उनले भनेकी छिन्, ‘आजको परिस्थिति आउन तपाईंहरूको नेतृत्वको व्यहोराले हो। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।’
उनले लेखेकी छिन्–
कहिलै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति वेलादेखि नै आलोचना गर्दै आएकी हुँ । तर, त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रयाल हुन थाल्यो । यो स्वीकार्य छैन ।
अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएकी छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । I QUIT. मैले पार्टी छोडेँ ।
कांग्रेस एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको व्यहाेराले हो । त्यो किन बोकेर बस्नुहुन्छ ? अहिले सही समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।