
उदयपुरको कटारी नगरपालिकाका पहाडी क्षेत्रका किसानले उत्पादन गर्दै आएको तरकारी बिक्री हुन कठिन भएको छ । जेन–जी प्रदर्शनका कारण यातायात सञ्चालनमा कठिनाइ हुँदा किसानको तरकारी बिक्री हुन सकेको छैन ।
यतिवेला किसानको बारीमा अकबरे खुर्सानी, काउली, टमाटर, स्कुस, रायोको साग छ । कटारी नगरपालिका– ११ का कृषक उद्धव राउतले आन्दोलनका कारण बजार नखुल्दा र यातायात सञ्चालन नहुँदा अकबरे खुर्सानी, काउली बिक्री हुन छाडेको बताए । उनले भने, ‘म दश वर्षअघिदेखि मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको छु ।
झन्डै १६ रोपनी जग्गामा मात्र अकबरे खुर्सानी लगाएको छु । त्यसमा काउली र टमाटर पनि छ । वार्षिक रूपमा तरकारी खेतीबाट खर्चसहित ९–१० लाख कमाउँदै आएको छु । तर, यसपालिको बन्दका कारण मारमा परेको छु ।
कटारी नगरपालिका– १०, ११ र १३ नम्बर वडा मौसमी तथा बेमौसमी तरकारी खेतीको पकेट क्षेत्रमा पर्छ । झन्डै १५ वर्षअघिदेखि तरकारी खेतीमा रमाउँदै आएका यस क्षेत्रका कृषक अहिले चिन्तित छन् । गहुँबारी तरकारी संकलन तथा बिक्री केन्द्रका अध्यक्ष केशव बस्नेतले जेन–जीको आन्दोलनभन्दा अघि दैनिक रूपमा १९ देखि २५ क्विन्टलसम्म तरकारी तथा खुर्सानी बिक्री हुने गरेको बताउँदै अहिले ठप्प भएको बताए ।
उदयपुरगढी गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख पारस फुयाँलले दसैँका लागि खसी–बोका बिक्री हुने समयमा आन्दोलनका कारण यातायात बन्द हुँदा किसान समस्यामा परेको बताए ।
उनले भने, ‘खसी बोका अब बिक्री हुने समय सुरु भयो । तर, आन्दोलनको प्रभावले कतै पनि बिक्री भएको जानकारी आएको छैन ।’