मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २९ आइतबार
  • Sunday, 14 September, 2025
कृष्ण रिजाल काठमाडाैं
२o८२ भदौ २९ आइतबार १२:१६:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

क्षति र पीडा भुलेर फेरि उठ्ने निजी क्षेत्रको संकल्प

सम्पत्ति र संरचनामा ठुलो नोक्सानी व्यहोरेका उद्योगी–व्यवासायीले गरे रोजगारी सिर्जना र लगानीमा अझ सशक्त हुने उद्घोष 

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २९ आइतबार १२:१६:oo

जेन–जी आन्दोलनका क्रममा अराजक भिडको आक्रमणबाट संरचना र सम्पत्ति गुमाएको निजी क्षेत्रले नोक्सान र पीडा भुलेर ‘फेरि उठ्ने संकल्प’ गरेका छन् । आफ्नै घर र व्यवसायमाथि प्रदर्शनकारीले गरेको तोडफोड, लुटपाट र आगजनीबाट ठुलो क्षति व्यहोरेका उद्योगी–व्यवसायीले प्रतिकूलताका बाबजुद ‘रोजगारी सिर्जना र लगानी’मा अझ सशक्त हुने उद्घोष गरेका हुन् । 

जेन–जी आन्दोलनका क्रममा आक्रोशित एवं अनियन्त्रित भिडले हिल्टन होटेल, एनसेल, भाटभटेनी सुपरमार्केट, बिगमार्ट, राजेश हार्डवेयर, सिजी, चन्द्रागिरि केबलकार, सवारीसाधनका सोरुम, चलचित्र हललगायत निजी लगानीका उद्योग–व्यवसायमा मात्रै नभई निजी घरमा समेत तोडफोड, आगजनी एवं लुटपात गरेका थिए । आक्रमणबाट अर्बौँको क्षति एवं मानसिक पीडा व्यहोरेको निजी क्षेत्रले क्षतिग्रस्त उद्योग–व्यवसायको पुनर्निर्माणमा तत्काल होमिने र थप लगानी, रोजगारी सिर्जना गरी आर्थिक सुधारमा अग्रसर हुने अठोट गरेका छन् । 

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिकूलताका बाबजुद फेरि सम्हालिएर अघि बढ्नुपर्नेबाहेक अर्काे विकल्प नभएको भन्दै देशभरका उद्योगी–व्यवसायीलाई नआतिन र नथाक्न आह्वान गरेका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘महासंघको अध्यक्षका हैसियतमा देशभरका उद्योगी, व्यवसायी र उद्यमशील मनहरूलाई एक सन्देश दिन चाहन्छु कि साथीहरू, हामी नआतिऔँ, नथाकौँ । आजैबाट क्षतिग्रस्त उद्योग–व्यवसायको पुनर्निर्माणमा होमिऔँ । थप लगानी गरी रोजगारी सिर्जनामा लागौँ । हरेकपटक आउने यस्ता चुनौतीलाई मुलुकको आर्थिक सुधारको नयाँ अवसरका रूपमा लिऔँ र अघि बढौँ ।’ 

निजी क्षेत्रले भूकम्प र कोभिड महामारीको संकटको समेत सामना गरेको उल्लेख गर्दै उनले अहिले पनि खरानी टकटक्याएरै उठ्नुपर्ने र आत्मबललाई दह्रो बनाउनुपर्ने अवस्था रहेको बताएका छन् । आन्दोलनका क्रममा भएको आक्रमणले भौतिक सम्पत्तिको क्षति मात्र नभई मन, समर्पण र सपनामाथि अपूरणीय चोट लागेको उल्लेख गर्दै उनले उद्योगी–व्यवसायीलाई भनेका छन्, ‘आगोले इँटा र काठ जलाए पनि तपाईं–हामीभित्रको हौसला र आत्मबल छँदै छ । तपाईं–हामीले गुमाएका सामग्री हाम्रा आत्मबल र हौसलाले फेरि जुटाउन सकिन्छ । यसैले भौतिक सम्पत्ति जोड्नुपर्छ र अहिले लागेको घाउचोटलाई पनि सबै मिलेर पुर्नुपर्छ । आउनुहोस्, सबैको प्रयास र निजी क्षेत्रको साहसले सुनौलो नेपालको मार्गचित्र कोर्ने सन्देश दिन सकिने गरी काम गरौँ ।’

त्यस्तै, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले आफूलाई हात उठाउने र खुट्टा लुलो गर्ने छुट नभएको बताए । अहिले भाटभटेनीमा लगाइएको आगो अझै बलिरहेको भन्दै उनले आगो निभाउँदै अघि बढ्ने बताए । ‘भाटभटेनीमा हजारौँ युवा भाइबहिनीहरू आबद्ध छन्, बैंकको अर्बौँ कर्जा छ, साना–ठुला व्यवसायीसँग अर्बौँको कारोबार छ, त्यसैले मलाई खुट्टा लुलो गर्ने छुट छैन, मैले चाहिँ अघि बढ्नुपर्छ,’ उनले भने, ‘हामीले क्षति नपुगेका भाटभटेनी सञ्चालन सुरु गरिसकेका छौँ, ध्वस्त भएका भाटभटेनीलाई कसरी पुनर्निर्माण वा नवनिर्माण गर्न सकिन्छ भनेर हेर्छाँै । अहिले पनि भाटभटेनीमा आगो बलिरहेको छ, त्यसलाई निभाएर अघि बढ्ने संकल्प गरेको छु ।’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आक्रमण भएको क्षति र पीडाका बाबजुद रोजगारी सिर्जना र लगानीमा अझ प्रतिबद्ध रहने उद्घोष गरेका छन् । गोल्छाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘देशमा सकारात्मक परिवर्तन होस्, नयाँ पुस्ताको नयाँ नेपालको सपना पूरा होस् । आक्रमणले हाम्रो परिवारलाई पनि छोयो, तर हामी अडिग छौँ । लोकतन्त्र सुदृढ होस् भन्ने कामनासहित रोजगारी सिर्जना र लगानीमा अझ प्रतिबद्ध छौँ । अन्धकारपछि उज्यालोले सबैलाई एकता देओस् ।

चौधरी ग्रूपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जेन जी आन्दोलनका क्रममा अराजक भिडबाट भएको तोडफोड, लुटमापत र आगजनीका वावजुद चौधरी ग्रूप नडगमगाएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी पीडित छौँ । हामी हल्लिएका छौँ । तर हामी टुटेका छैनौँ । अराजकहरूले हाम्रा भवनहरू जलाउन सक्छन्, तर हाम्रा सपनाहरू जलाउन सक्दैनन् । हाम्रा सोरुमहरू लुट्न सक्छन्, तर हाम्रा मूल्यहरू लुट्न सक्दैनन् । उनीहरूले हामीलाई कमजोर बनाउन खोज्न सक्छन्, तर हाम्रो एकता भङ्ग गर्न सक्दैनन् ।

चौधरी समूह नेपालकै सबैभन्दा ठूलो करदाता र सबैभन्दा धेरै रोजगारी दिने संस्थामध्ये एक भएको उल्लेख गर्दै उनले भूकम्प, बाढीपहिरो, महामारीजस्ता हरेक संकटमा अग्रपंक्तिमा उभिने गरेको उल्लेख गरेका छन् । उनले पहिलाभन्दा अझ बलियो भएर अघि बढ्ने समेत बताएका छन् । उनले लेखेका छन्, ‘हामी पुन:निर्माण गर्नेछौँ, पुन:उठ्नेछौँ । हामी पहिलाभन्दा अझ बलियो भएर अघि बढ्नेछौँ । हामी केवल बाँच्ने छैनौँ—हामी अझ उज्जवल भविष्य निर्माण गर्नेछौँ ।’