
गृह मन्त्रालयको नयाँ भवनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नियमित कार्य आरम्भ गरिन थालिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवनमा आगजनी र तोडफोड भएपछि तत्काल कार्यसञ्चालनका लागि गृहको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सर्न लागेको हो।
मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्यालयको भवनमा क्षति पुगेकाले मर्मतसम्भार भएर सञ्चालनमा आउने अवस्था नहुन्जेल गृहको नयाँ भवनबाट कार्यारम्भ गर्न लागिएको जानकारी दिए। गृहको भवनमा प्रधानमन्त्री कार्यालय सार्ने गरी अहिले तयारी अघि बढाइएको छ।
गृह मन्त्रालय बस्ने गरी केही समयअघि मात्र यो भवनको निर्माण सम्पन्न भएको थियो। ५६ करोड ४३ लाख ६३ हजार रुपैयाँ लागतमा बनेको यो भवन सिंहदरबारमा बनेकामध्येकै अत्याधुनिक छ।
प्रधानमन्त्री सुशीला कार्कीले केही समयपछि कार्यभार सम्हाल्ने भएकी छिन् ।सरकार निर्माणमा सहजकर्ताको भूमिका निर्वाह गरिरहेका अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार बिहान साढे ११ बजे यसै कार्यालयमा पदभार ग्रहण हुनेछ । जेन–जीको आन्दोलनपछि ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने गरी कार्कीलाई चुनावी सरकारको प्रधानमन्त्री नियुक्त गरिएको हो।