
जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको आज तेस्रो दिन हो । शुक्रबार बेलुका सपथ लिएपछि शनिबार दिनभर आन्दोलनका घाइते, सहिद परिवार भेट्दै भग्नावशेष संरचना हेरेकी प्रधानमन्त्री कार्कीले आज कार्यभार सम्हाल्दै छिन् । यसका अलावा मन्त्री नियुक्तिको तयारी चलिरहेको छ ।
अन्य के गरिरहेको छ त सरकारले ? यो प्रश्नको जवाफमा सरकार निर्माणमा सहजकर्ताको भूमिकामा रहेका अधिवक्ता अर्यालले सरकार अहिले समग्र परिस्थितिको मूल्यांकनको चरणमा रहेको बताए । ‘सरकार आन्दोलनबाट भएको क्षतिमै केन्द्रित छ । कार्यालय सञ्चालनको अवस्था, पीडितको अवस्था के छ, निर्वाचनको विषयवस्तु छ, शान्ति सुव्यवस्था, कर्मचारी र सुरक्षाकर्मीको मनोबल, जनताको अपेक्षा हेरिरहेको छ । जनविद्रोह भएको छ, यसको असर, प्रवाहलाई कानुनी र राजनीतिको सन्तुलनमा रहेर हेर्नुपर्नेछ । मूल्यांकन हुँदैछ,’ उनले भने ।