
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार अपराह्न १२ बजेसम्मका लागि बन्द गरिएको छ । मंगलबार दिउँसो साढे दुई बजेदेखि बन्द गरिएको विमानस्थल बधुबार अपराह्नसम्म नखोलिने भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै १२ बजेसम्म सबैखाले आन्तरिक एवं अन्तर्राष्ट्रिय उडान–अवतरणमा रोक लगाएको हो । उद्धारका (रेस्क्यु)बाहेकका सबै उडान रोकिएको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
जेन–जी आन्दोलनका क्रममा काठमाडौं उपत्यकामा भएको आगजनीपछि उपत्यकावरिपरि धुवाँको मुस्लो देखिएका कारण उडान–अवतरण रोकिएको उनले बताए । ‘काठमाडौंको आकाशमा धुवाँको मुस्लो देखिएको छ, यसले जहाज उडान–अवतरणमा असर पर्छ, त्यसैले भोलिसम्मका लागि विमानस्थल बन्द गरिएको हो,’ उनले भने, ‘भोलिको अवस्था हेरेर थप निर्णय हुनेछ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक साढे चार सयभन्दा बढी उडान–अवतरण हुन्छ । दैनिक तीन सयदेखि तीन सय ५० सम्म आन्तरिक र ९० देखि एक सयवटा अन्तर्राष्ट्रिय उडान–अवतरण हुने गरेको छ । अहिले दैनिक १५ हजारभन्दा बढी यात्रुले यात्रा गर्छन् । यद्यपि, सिजनमा भने अझ बढीले यात्रा गर्छन् ।
भैरहवा विमानस्थलमा तोडफोड
आन्दोलनकारीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत तोडफोड गरेका छन् । भैरहवा विमानस्थलको टर्मिनल भवन र टावरबिचको क्षेत्रमा आगजनी भएको उनले बताए । अहिले स्थिति नियन्त्रणमा आइसकेको छ । ‘सबै विमानस्थल सुरक्षित छन्, टिआइएलाई आर्मीले सुरक्षा दिइरहेकै छ,’ उनले भने, ‘सबै पक्षले यात्रुको सुरक्षामा ध्यान दिनुपर्छ ।’