
चौतर्फी दबाबपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सरकारले रिहा गरेको छ । जेन–जीको आन्दोलन चर्किँदै गएपछि नक्खु कारागार प्रशासनले गृहसचिवस्तरीय निर्णयअनुसार कागज गरेर मंगलबार उनलाई पत्नी निकिता पौडेलको जिम्मा लगाएको हो ।
‘आमनागरिकको दबाबपछि सरकारले मेरो रिहाइको लागि कानुनबमोजिमको प्रकिया पूरा गरी पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई सिधै आमनागरिकसामु आउन पाएको हुँ,’ रिहा भएपछि लामिछानेले भनेका छन्, ‘यसका बाबजुद पनि मुलुकको कानुनप्रति बफादार हुँदै भविष्यमा आइपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु ।’
लामिछानेले अब देशको नेतृत्व जेन–जीले चाहेअनुसार हुने बताएका छन् । ‘यो आन्दोलन विशुद्ध जेन–जीको हो । मुलुकको अबको नेतृत्व जेनजीकै मागअनुसार र जेन–जीकै परिकल्पनाअनुरूप अघि बढ्नुपर्छ भन्ने कुरामा म स्पष्ट छु । र, म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु,’ उनले भनेका छन् ।
लामिछानेले नेताका सम्पत्ति पूर्ण रूपमा राष्ट्रियकरण गर्नुपर्ने माग पनि अघि सारेका छन् । ‘यस देशका लुटेराहरूले सजाय पाउने क्रम जारी छ । यिनको निजी सम्पत्ति यिनको होइन, देशको तीन पुस्तालाई लुटेर यिनीहरूले जोडेका हुन् । यिनको बाँकी सम्पत्ति पनि पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्छ र यिनीहरूलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ,’ उनले भनेका छन् ।
सभापति लामिछानेले राष्ट्रका सम्पत्तिहरू जोगाउन र सबैलाई संयमित हुन अपिल गरेका छन् । ‘राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायालयलगायतका दस्ताबेज राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन्, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संवेदनशील दस्ताबेजहरू नास हुन सक्छन् । जुन तपाईं–हाम्रा लागि र यो देशका लागि अत्यन्त क्षतिपूर्ण हुन सक्छन् । सरकारी सम्पत्तिहरू क्षति हुँदा राष्ट्रकै सम्पत्तिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो । हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति जोगाउन जरुरी छ,’ उनले आफ्नो अपिलमा भनेका छन् ।