
प्रहरीको सुरक्षा घेरा तोड्दै जेन–जीको समर्थनमा निस्किएको सर्वसाधारण र युवाकाे टोलीले हेटौँडा– २ स्थित हेटौँडा उपमहानगरपालिका कार्यालयअगाडि प्रदर्शन गरेका छन् । हेटौँडा– ४ शीतलमहल चोकमा सुरुवातमा केही संख्यामा देखिएका प्रदर्शनकारी सीमाचोक, बुद्धचोक हुँदै मानसचोक पुग्दा बाक्लिँदै गए । प्रदर्शनकारीहरूले शंख बजाएर नाराबाजी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए ।
शान्तिपूर्ण र्यालीको रूपमा सुरु भएको प्रदर्शनपछि नगरका मुख्य चोकहरूमा सुरक्षा संवेदनशीलता उच्च गरिएको थियो । प्रहरीले उपमहानगरपालिका कार्यालयअगाडि बलियो सुरक्षा घेरा बनाएर प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रयास गरे पनि उनीहरू घेरा तोड्दै कार्यालयपरिसरमा प्रवेश गरेका थिए । ‘ओलीको राजीनामा चाहिन्छ’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘न्याय देऊ’ भन्ने नारा लगाउँदै प्रदर्शनकारीहरू अगाडि बढेका थिए । उनीहरूमा अधिकांश विद्यार्थी तथा युवा छन्।
यसअघि पनि हेटौँडाका विभिन्न स्थानमा जेन–जीकाले भ्रष्टाचार, असमानता र बेरोजगारीविरुद्ध र्याली र धर्ना गरेका थिए । सोमबारको प्रदर्शनमा पनि उनीहरूले सरकारको निष्क्रियता र उदासीनताप्रति आक्रोश पोखेका थिए । उपमहानगरपालिका कार्यालयमा जेन–जीको प्रवेशपछि केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि झडप भने हुन पाएन । प्रहरीले परिस्थितिलाई नियन्त्रणमा लिन सकेको थियो ।
स्थानीयहरूले भने जेन–जीको आन्दोलनलाई युवाको आक्रोशको प्रतिबिम्बका रूपमा लिएको बताएका छन् । प्रहरीले भने परिस्थिति नियन्त्रणमा रहेको बताउँदै शान्तिसुरक्षा कायम राख्ने दृढता व्यक्त गरेको छ ।