
जर्ज बर्नार्ड सा अंग्रेजी साहित्यका सिद्धहस्त सर्जक हुन् । हत्तपत्त कसैको निम्तो स्विकारेर भोजमा सरिक हुने स्वभाव उनको थिएन । उनी शाकाहारी थिए । अधिकांश भोजमा मासुका अनेकथरी परिकार सजाइएका हुन्थे । त्यसैले उनी सकभर यस्ता भोजमा सहभागी बन्नबाट उम्किने उपाय निकालिहाल्थे । सकभर धेरैजसो अनुरोध हाँसेरै टारिदिने उनको स्वभावै बनिसकेको थियो । एक सज्जनले एउटा भोजमा सहभागी भइदिन सालाई पटक–पटक अनुरोध गरे । ती सज्जनले बारम्बार गरेको आग्रह टार्न उनलाई कठिन भयो । त्यसैले बर्नार्डले ती सज्जनको आग्रह स्विकारेर उनले आयोजना गर्ने भोजमा सहभागी बन्न स्वीकृति दिए । तर, भोजको दिन आउनुअघि नै साले पहिल्यै स्पष्ट गरिदिए कि उनी मांसाहारी खाना खानेछैनन् ।
यसका साथै, उनले मांसाहारीसँगै एउटा टेबलमा बसेर पनि आफूले खाना नखाने प्रस्ट पारिदिए । उनले आफूजस्तै शाकाहारीका लागि अलग्गै शाकाहारी टेबलको व्यवस्था गरिदिन ती सज्जनलाई आग्रह गरे । सज्जनले उनको इच्छालाई ध्यानमा राख्ने आश्वासन दिए ।
अन्तत: भोजको दिन आइपुग्यो । निर्धातिर समयमै सा भोज आयोजना स्थलमा पुगे । उनी अरू शाकाहारीसित मिलेर शाकाहारी टेबलमा राखिएको सलाद खान थाले । उनलाई ध्यानपूर्वक हेरिरहेका एक मांसाहारी सज्जनले उनलाई चोट पुर्याउने ध्येयले भने, ‘महोदय, तपाईं त घाँसपात पो खाइरहनुभएको छ त । जनावरले खाने घाँसपात तपाईं किन खाइरहनुभएको छ ? कुखुरा खानुस् न, कुखुरा ।’ हाजिरजबाबीमा सा पोख्त थिए । उनले मौका नगुमाइ ती मांसाहारी सज्जनलाई जबाफ दिए, ‘हेर्नुस् महाशय, मेरो पेट कुनै चिहान होइन । त्यसैले म यसमा किन कुनै मुर्दालाई राखूँ ?’ साको तिखो जवाफ सुनेपछि ती सज्जन निरुत्तर भए भने भोजमा आएका बाँकी मानिस भने मन खोलेर हाँस्न थाले ।