
संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । बिहीबार मनोनयन दर्ताको सूचना संसद्का महासचिव पदम पाण्डेलाई बुझाएका हुन्। खतिवडाको प्रस्तावकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र समर्थकमा एमाले मुख्य सचेतक महेश बर्तौला छन् ।
सुनुवाइ समिति सभापति ईश्वरी न्यौपानेले १० भदौमा सभापति पदबाट राजीनामा दिएकी थिइन् । रिक्त पदमा खतिवडाले उम्मेदवारी दिएका हुन् । सभापति पद रिक्त भएपछि १५ दिनभित्र निर्वाचन गर्नुपर्ने नियमावलीमा व्यवस्था छ ।
खतिवडा यसअघि राज्य व्यवस्था समिति सभापति थिए । कुलिङ पिरियडमा भएको गडबडीको नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिएका थिए । उनको ठाउँमा न्यौपाने राज्य व्यवस्था समितिको सभापति बनेकी छिन् । खतिवडालाई सुनुवाइ समितिमा ल्याउन लागिएको हो ।