मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Friday, 05 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १९ बिहीबार o८:१९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वराष्ट्रपति भण्डारी पक्षको फरक मत पनि सचिवालयमा छलफल गरिने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार o८:१९:oo

एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा प्रवेश गर्ने ढोका बन्द गर्दै सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयमाथि असहमति राख्ने नेताहरूको मतमाथि केन्द्रीय सचिवालयमा छलफल चलाउने भएको छ । केन्द्रीय सचिवालयको बिहीबार डाकिएको बैठकमा केन्द्रीय कमिटीको निर्णयमाथि फरक मत राख्ने उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले राखेको ‘नोट अफ डिसेन्ट’मा छलफल गर्ने एमालेले तयारी गरेको हो । निर्णयमाथि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि असन्तुष्टि जनाउँदै आएका छन् । उनले सचिवालयको बिहीबारकै बैठकमा आफ्नो फरक मत राख्ने तयारी गरेका छन् । शुक्रबारबाट सुरु हुने विधान महाधिवेशनको तयारीका लागि छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो । 

महासचिव शंकर पोखरेलले बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीमा दुई उपाध्यक्षले पूर्वराष्ट्रपति भण्डारीको निर्णयका सन्दर्भमा राखेको फरक मतलाई विधान महाधिवेशन कि राष्ट्रिय महाधिवेशनमा छलफलमा लैजान दिने विषयको निरूपण केन्द्रीय सचिवालय बैठकले गर्ने बताए । ‘केन्द्रीय कमिटी बैठकमा केही फरक मतका रूपमा प्रकट भयो भन्ने तपाईंहरूले थाहा पाइसक्नुभएको छ । फरक मतका रूपमा दुईजना उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कनुहुँदैन र उहाँको सदस्यता नवीकरण गर्ने कुरा अस्वीकार गर्नुपर्दछ भन्ने विषयमाथि असहमति राख्नुभएको छ । कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय दस्ताबेजको विषय होइन, त्यसकारण त्यो विषय दस्ताबेजको फरक मत हो कि होइन भन्ने अर्थमा जिज्ञासा हो भने दस्ताबेजमाथिको फरक मत होइन,’ पोखरेलले भने, ‘निर्णयमाथिको फरक मत हो । निर्णयमाथिको फरक मत विधानत: अधिवेशनमा छलफल गर्ने कि, राष्ट्रिय महाधिवेशनमा छलफल गर्ने भन्ने विषय सचिवालय बैठकले निरूपण गर्ला । किनकि कुनै विन्दुमा राष्ट्रिय महाधिवेशन निर्णयहरूका सन्दर्भमा छलफल गर्न पाइन्छ ।’

पोखरेलले दुई उपाध्यक्षले पार्टीको वैचारिक विषयमा भन्दा पनि निर्णयमाथि असहमति मात्र राखेको बताए । ‘मतका हिसाबले दस्ताबेजमाथि फरक मत नभएकाले दस्ताबेजमाथि छलफल हुने विधान अधिवेशनमा त्यसलाई प्रस्तुत गर्ने कि पछि गर्ने भन्ने कुरा सचिवालयमा बसेर छलफल गरेर टुंगो लाग्ला, तर मतका हिसाबले निर्णयमाथिको असहमति हो । विचारमाथिको असहमति होइन । विचार र निर्णयको भिन्नतामाथि बुझ्नुपर्छ,’ उनले भने । 

ओलीको राजनीतिक प्रतिवेदनमा के छ ? 
विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान मस्यौदा प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रस्ताव पेस गर्नेछन् । ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनले विकसित राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै आजका मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनले राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष राजनीतिक प्रस्ताव तथा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पार्टीको गन्तव्यका रूपमा अगाडि बढाउने रोडम्याप (मार्गचित्र) प्रस्तुत गरेको पनि जानकारी दिए । 

उपाध्यक्ष पौडेलले प्रस्तुत गर्ने विधान संशोधनसम्बन्धी प्रस्तावमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विषय थप गरिएको छ । साथै, पार्टीमा दुईखाले पार्टी सदस्यहरूको व्यवस्था, ७० वर्षे उमेरहद नरहने, पार्टीका जिल्ला कमिटीलाई कार्यकारी रूपमा कायम गर्ने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्युरो र १५ जना केन्द्रीय पदाधिकारीको स्थायी कमिटी रहनेलगायत नयाँ व्यवस्था प्रस्ताव गरिएको छ भने पदाधिकारीमा एकजना महिला अनिवार्य गरिएको छ ।

महासचिव पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्तावमा पार्टी निर्माणका क्षेत्रमा देखापरेका समस्या र समाधानका उपाय, पार्टी निर्माणका क्षेत्रमा आजसम्मका विकसित सर्वस्वीकार्य मान्यताका आधारमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र प्रस्तुत गरिएको एमालेले जनाएको छ । प्रस्तावमा मुलुकमा राजनीतिक स्थायित्व, राष्ट्रिय हित र स्वाभिमानको रक्षा तथा समृद्धि र सुशासनलाई निर्वाध अगाडि बढाउन राष्ट्रिय शक्तिको निर्माण अपरिहार्य रहेको कुरामा जोड दिइएको छ ।

एमालेले विधान महधिवेशन सफल पार्न आठवटा विभिन्न समितिले काम गरिरहेको जानकारी दिँदै सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शुक्रबारबाट सुरु हुने महाधिवेशनको उद्घाटन बिहान ११ बजे ललितपुरको गोदावरीमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गर्नेछन् । विधान महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २३ सय ४१ जना सहभागी हुनेछन् । एमालेले विधान महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने तय गरेको छ । 

विधान महाधिवेशन प्रतिनिधिलाई पूर्वराष्ट्रपति भण्डारीले अपिल गर्ने
पूर्वराष्ट्रपति विद्या भण्डारीले विधान महाधिवेशन प्रतिनिधिहरूका लागि अलग्गै अपिल जारी गर्ने भएकी छिन् । पार्टी निर्णयले राजनीतिमा फर्किने ढोका बन्द भएर महाधिवेशन प्रतिनिधि बन्न वञ्चित भएकी पूर्वराष्ट्रपति भण्डारीले पार्टीको पूर्वउपाध्यक्षको हैसियतमा शुक्रबार बिहानसम्म अपिल जारी गर्न लागेकी हुन् । भण्डारीको स्वकीय सचिवालयका अनुसार उनले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई जनताको बहुदलीय जनवादको मार्गदर्शनमा एमालेलाई देशकै निर्णायक र ठुलो शक्ति निर्माण हुने गरी राम्रो कार्यदिशा र विधान निर्माणका लागि आह्वान गर्नेछिन् । त्यस्तै, उनले विधान महाधिवेशन प्रतिनिधिलाई विवेकसम्मत ढंगले पार्टीभित्रको आन्तरिक समस्याबारे खुलेर छलफलका लागि पनि आह्वान गर्ने पनि तयारी गरेकी छिन् ।

छुटाउनुभयो की ?