
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका विषयमा चासो देखाएका छन् । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी बैठकमा मुख्यमन्त्री बानियाँले सवारी दुर्घटना न्यूनीकरण र सहज यातायात सेवा सुनिश्चित गर्न निर्देशन दिएका हुन् ।
बैठकले उपत्यकाको ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि विभिन्न निर्णयहरूसमेत गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालयले अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्ने, ट्राफिक प्रहरीलाई आवश्यक उपकरण उपलब्ध गराउने, सार्वजनिक सवारीसाधनको रुट पर्मिटलाई व्यवस्थित गरी विद्युतीय प्रणालीमार्फत इजाजतपत्र जारी गर्ने व्यवस्था गर्ने निर्णय भएको छ ।
यस्तै, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणअघि तथा पछि ट्राफिक नियमसम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन गर्ने, आवश्यक स्थानमा ट्राफिक लाइट जडान गरी यसको सञ्चालन ट्राफिक प्रहरीले गर्ने, सुरक्षित सवारीसाधन सञ्चालन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी श्रम, रोजगार तथा यातायात मन्त्रालयले लिने निर्णय बैठकले गरेको छ।
यातायात व्यवस्थापनका समस्या र समाधानका उपायबारे छलफल गर्न यातायात कार्यालय, ट्राफिक प्रहरी, व्यवसायी र सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले उपत्यकाको ट्राफिक व्यवस्थापन र वर्तमान अवस्थाबारे जानकारी गराएको उक्त बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, प्रमुखसचिव भूपाल बरालसहित सम्बन्धित सचिव तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।