
जिल्ला कारागार धनकुटामा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीहरू राख्दा पिउने पानी र फोहोर व्यवस्थापनको समस्या भएको छ। कुल ५० जना क्षमताको कारागारमा अहिले १७८ जना कैदीबन्दी छन्। ३५ पुरुष र १५ महिलाको क्षमता भएको कारागारमा १७३ पुरुष र पाँच महिला कैदीबन्दी छन्।
कारागार कार्यालयका अनुसार पुरुषतर्फ १०४ कैदी र ६९ थुनुवा तथा महिलातर्फ चार कैदी र एक थुनुवा छन्। कारागार कार्यालयमा रहेका कैदी र थुनुवामध्ये सबैभन्दा बढी जबर्जस्ती करणीका ५४ जना छन्।
कारागार कार्यालय धनकुटाले दिएको तथ्यांकअनुसार आजसम्म कर्तव्य ज्यानका १९ जना कैदी र आठ थुनुवा छन् भने लागुऔषधका २६ जना कैदी र २७ जना थुनुवा छन्। त्यस्तै, जबर्जस्ती करणीका ३४ कैदी र २० थुनुवा छन् भने जबर्जस्ती करणी उद्योगका सात कैदी र दुई थुनुवा छन्। कारागारमा ज्यान मार्ने उद्योगका चार जना कैदी र चार थुनुवा, सवारी ज्यानका दुई कैदी, बाल यौन दुर्व्यवहारका एक कैदी तथा बहुविवाहका एक कैदी र एक थुनुवा रहेका छन्।
त्यस्तै, अभद्र व्यवहारका एक कैदी, मानव बेचबिखनका एक कैदी, आत्महत्या दुरुत्साहनका एक कैदी, आपराधिक उपद्रवका तीन कैदी, कुटपिट अंगभंगका एक थुनुवा, विधुतीय कारोबार कसुरका एक थुनुवा, लेनदेनसम्बन्धी एक कैदी, ठगी तथा संगठित अपराधका दुई थुनुवा, डकैतीका दुई कैदी र एक थुनुवा, चोरीका तीन कैदी र तीन थुनुवा, पशुपक्षीसम्बन्धी कसुरका एक कैदी र ज्यानसम्बन्धी कसुरका एक कैदी र एक थुनुवा रहेका कारागार कार्यालय धनकुटाले जनाएको छ।
कारागार कार्यालयमा क्षमताभन्दा बढी कैदीबन्दीहरू रहे पनि खान, बस्न र सुत्नमा खासै समस्या नभएको कारागार कार्यालय धनकुटाका प्रमुख कारागार प्रशासक सन्दीप न्यौपानेले बताए। उनका अनुसार कारागार कार्यालयमा अहिले पिउने पानी, फोहोर व्यवस्थापन र स्वास्थ्यकर्मीको समस्या रहेको छ। ती समस्या समाधानका लागि माथिल्लो निकायमा आफूले पत्र लेखिसकेको कारागार प्रशासक न्यौपानेले बताए। उनले भने, ‘कम्तीमा पनि कार्यालयमा एकजना स्वास्थ्यकर्मी अहेव अनिवार्य आवश्यक छ। तर, दरबन्दी भएर पनि अहेव अहिले कार्यरत छैनन्।’
क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण दैनिक फोहोरको डंगुर थुप्रिने गर्छ। उक्त फोहोर समयमा व्यवस्थापन नहुँदा कैदीबन्दीहरूमा रोग फैलन सक्ने खतरा रहेको कारागार प्रशासक न्यौपानेको भनाइ छ। अहिले धनकुटा नगरपालिकाले चार दिनमा एकपटक फोहोर उठाउँदै आएको छ। त्यसलाई बढाएर कम्तीमा दैनिक नभए पनि दुई दिनमा एकपटक फोहोर नगरपालिकाले उठायो भने केही सहज हुने न्यौपानेले बताए। यता कारागार कार्यालयका चौकीदार किरण राईले पनि खानबस्नमा खासै समस्या नभए पनि पिउने र सरसफाइको लागि पानीको चरम अभाव रहेको बताए।
कारागार कार्यालय धनकुटाको पुरानो भवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खान, बस्न र सुत्न निकै समस्या थियो। त्यति मात्र हाेइन, पुरानो भवनको भित्री भाग काठले निर्माण गरिएकाले उडुस, उपियाँको समेत समस्या थियो। तर, अहिले नयाँ भवन निर्माण भएपछि खान, बस्न, सुत्नमा समस्या नभएको चौकीदार राईले बताए।