मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
Invalid date format १o:१o:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

स्ट्राइकर सावित्राको नयाँ गन्तव्य अस्ट्रेलियन लिग

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१o:oo
  • युरोप तथा अस्ट्रेलियाली लिग खेल्ने पहिलो नेपाली फुटबल बनेकी सावित्रा भण्डारीले दुई वर्ष न्युजिल्यान्डको फोनिक्स वेलिङटनबाट प्रतिस्पर्धा गर्ने 

नेपाली राष्ट्रिय महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारीको करिअरकै नयाँ गन्तव्य न्युजिल्यान्ड बनेको छ । गत साउनमा न्युजिल्यान्डको बेलिङटन फोनिक्स क्लबमा आबद्ध भएकी सावित्रा प्रिसिजन क्याम्पमा सहभागी हुन सोमबार राति त्यसतर्फ प्रस्थान गरिन् । उनले फुटबल करिअरमा नयाँ यात्राका रूपमा वेलिङटन फोनिक्ससँग आबद्धतालाई लिएकी छिन् । ‘नयाँ यात्राको सुरुवात गर्दै छु । सम्पूर्ण नेपाली समर्थकको आशीर्वाद र समर्थनको साथ आवश्यक छ,’ न्युजिल्यान्ड प्रस्थान गर्नुअघि उनले सोसल मिडियामा भनेकी छिन्, ‘वेलिङटनबाट खेल्न र त्यहाँ रहने नेपाली समर्थकलाई मैदानमा भेट्न उत्साहित छु ।’

फोनिक्स न्युजिल्यान्डको क्लब हो । तर, उसले न्युजिल्यान्डमा नभएर अस्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्ने गर्छ । अस्ट्रेलियन क्लबहरूको बाहुल्य रहेको लिगमा फोनिक्स एक मात्र विदेशी र न्युजिल्यान्डको क्लब हो । लिगको नयाँ सिजन ३१ अक्टोबरदेखि सुरु हुँदै छ । लिगमा प्रतिस्पर्धा गर्ने १२ मध्ये ११ टोली अस्ट्रेलियाका हुन् । गत सिजनमा वेलिङटन नवौँ स्थानमा रह्यो । उसले २३ खेलमा सात खेल मात्र जितेको थियो । 

दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर सावित्रा अस्ट्रेलियाली लिग खेल्ने समग्रमा पहिलो नेपाली फुटबलर हुन् । अब उनले दुई वर्ष अस्ट्रेलियाको माथिल्लो डिभिजनको अनुभव बटुल्नेछिन् । गत साउनमा फोनिक्सले उनलाई दुई वर्षका लागि अनुबन्ध गरेको थियो । फोनिक्ससँग आबद्ध हुँदा उनले त्यहाँ धेरै गोल गर्ने योजना रहेको बताएकी थिइन् । ‘फोनिक्समा आबद्ध हुन पाउँदा धेरै खुसी छु । त्यहाँ धेरैभन्दा धेरै गोल गर्नेछु र समर्थकलाई खुसी बनाउनेछु,’ उनले भनेकी थिइन् । 

युरोपको अनुभव अस्ट्रेलियामा
पछिल्लो समयमा नेपाली राष्ट्रिय महिला फुटबल खेलाडीहरू विभिन्न विदेशी क्लबमा आबद्ध छन् । यसमध्ये सावित्रा अगाडि छिन् । उनले निकै कम समयमै विभिन्न राष्ट्रका शीर्ष डिभिजन लिगहरूको अनुभव बटुल्न अवसर पाइन् । न्युजिल्यान्डको क्लबसँग आबद्ध हुनुअघि सावित्राले दुई वर्ष युरोपमै बिताइन् । फ्रान्सको शीर्ष डिभिजनको लिग खेल्ने गुइनगाम्पाबाट उनले दुई वर्ष प्रतिस्पर्धा गरिन् । युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबल पनि उनी नै हुन् । फ्रान्समा उनको पहिलो सिजन राम्रो भयो । तर, दोस्रो सिजन भने त्यति उत्कृष्ट बनाउन सकिनन् । उनी आबद्ध गुइनगाम्पा यस वर्ष रेलिगेसनमा परेको थियो ।

सावित्रा गुइनगाम्पामा आबद्ध भएको पहिलो सिजनमा क्लब दसौँ स्थानमा रहेको थियो । त्यसवेला क्लब बल्लतल्ल रेलिगेसन क्षेत्रबाट माथि उठेको थियो । गत दोस्रो सिजनमा यो क्लब दोस्रो डिभिजनमा झर्‍यो । यद्यपि, उनले क्लबबाट उनले ६ गोल गरिन् । यी ६ मध्ये दुई गोल उनले युरोपकै बलियो र खर्चिलो क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)विरुद्ध रह्यो । फ्रेन्च क्लबबाट खेलिरहँदा उनलाई फोनिक्सबाट प्रस्ताव आएको थियो । उनले सहजै स्वीकार गरिन् । फ्रेन्च क्लबमा आबद्ध हुनुअघि उनले इजरायलकोे शीर्ष डिभिजन क्लब हापोइलबाट प्रतिस्पर्धा गरेकी थिइन् । तर, उनले इजरायलमा लिगको साइकल पूरा गर्न सकिनन् । युद्धका कारण उनी सिजनको बिचबाटोबाटै नेपाल फर्किइन् । युरोपियन लिग खेल्ने र गोल गर्ने सावित्रा पहिलो नेपाली खेलाडी हुन् पनि ।

भारतीय महिला लिगमा तहल्का
सावित्राको फुटबल करिअरको कुरा गर्दा पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक क्लब भारतीय हो । उनको पहिलो विदेशी क्लब सेथु एफसी हो । यसै क्लबमा आबद्ध हुँदै उनले व्यावसायिक लिगमा पाइला राखिन् । सावित्राले पछिल्लोपटक गोकुलम् केरलाबाट प्रतिस्पर्धा गरेकी थिइन् । उनले १० खेलमा २९ गोल गरिन् । उनी लिगकै सर्वाधिक गोलकर्ता बनिनन्, सावित्राकै उत्कृष्ट प्रदर्शनमा गोकुलम्ले लिग जित्यो । उनले भारतीय महिला लिगमा तीन सिजन बिताइन् । समग्रमा उनले भारतीय लिगमा २४ खेलमा ६० गोल गर्दै कीर्तिमानसमेत बनाएकी छिन् ।

११ वर्षअघि राष्ट्रिय टोलीबाट डेब्यु
दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर सावित्रा घरेलु लिगमा एपिएफमा आबद्ध छिन् । यद्यपि, यसपटक नेपालबाट प्रतिनिधित्व गर्दै एपिएफले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छनोट खेल्दा सावित्राले प्रतिस्पर्धा गरिनन् । सन् २०१४ मा उनले नेपाली महिला राष्ट्रिय टोलीबाट डेब्यु गरिन् । पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानविरूद्धको खेलमा डेब्युसँगै पहिलो अन्तर्राष्ट्रिय गोल पनि गरिन् । अहिले राष्ट्रिय टोलीमा सर्वाधिक गोलकर्ताको कीर्तिमान उनकै नाममा छ । डेढ महिनाअघि उज्वेकिस्तानको तास्केन्दमा भएको एएफसी महिला एसियन कप छनोटमा उनले टोलीको कप्तानी गरेकी थिइन् । राष्ट्रिय महिला टोलीकी उनी १३औँ कप्तान हुन् । छनोटअन्तर्गत तीन खेलमा उनले नौ गोल गरेकी थिइन् ।

हामी सावित्रालाई स्वागत गर्न आतुर छौँ : फोनिक्स वेलिङटन
हामी तपार्इंहरूलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारीलाई छिट्टै मैदानमा भेटाउँदै छौँ । सावित्रा आइकोनिक खेलाडी तथा नेपाली महिला फुटबलकै सर्वाधिक गोलकर्ता हुन् । उनको नेतृत्व र  अन्तर्राष्ट्रिय लिगको अनुभवबाट फोनिक्सले नयाँ सिजनमा राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको छ । लिगको नयाँ सिजनमा नेपाली खेलाडीको प्रदर्शन हेर्न हामी सबै आतुर छौँ । नेपालकै स्टार स्ट्राइकरलाई स्वागत गर्न पाउँदा हामी हर्षित छौँ ।