
नेताहरूबारे लेखेको या धम्क्याएको भनेर वेलावेलामा सर्वसाधारण नागरिक पक्राउ पर्नुले के संकेत गर्छ ?
हाम्रो संविधानले लोकतान्त्रिक व्यवस्था अपनाए पनि हाम्रा नेतामा लोकतान्त्रिक आचरण र व्यवहारको अभाव छ । उनीहरूमा लोकतान्त्रिक संस्कार तथा संवैधानिक मूल्य नै छैन । भिन्न मतको सम्मान लोकतन्त्रको सौन्दर्य हो । लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ । जनताले आफूलाई लागेका कुरा सुनाउने या प्रश्न सोध्ने नेताहरूलाई नै हो । संवैधानिक तथा कानुनी सीमाभित्र बसेर जनताले नेताहरूलाई गाली गर्न पनि पाउँछन् । जनताले नै तिनलाई चुनेर पठाएका हुन् । जनताले तिरेको करबाटै तिनीहरू पालिएका हुन्छन् । त्यत्ति हो, जनताले बोल्न पाइयो भन्दैमा जातजाति, धर्म, सम्प्रदायप्रति विद्वेष फैलाउने गरी ‘हेट स्पिच’ दिन पाउँदैनन् । अन्यथा, कुनै नेतालाई प्रश्न गर्नु, आफ्नो आक्रोश पोख्नु जनताको अधिकार नै हो ।
सत्ताको दबाबमा सर्वसाधारणमाथि कानुनको गलत प्रयोग भइरहेको हो त ?
हो, यहाँ भइरहेकै यही हो । यहाँनेर कानुन कार्यान्वयन गर्ने निकायमा पनि राजनीतिक छाया परेको छ । तिनका अधिकारीमा दास मनोवृत्ति छ । त्यसले गर्दा नेतृत्वले इसारा गर्नासाथ सही, गलत नहेरी तथा कानुनका दफा, उपदफा कुल्चेर ‘एक्सन’मा आइहाल्ने र सर्वसाधारणलाई सताउने काम भइरहेको छ ।
हाम्रा नेता नागरिकका प्रश्नदेखि यतिबिघ्न किन अत्तालिएका होलान् ?
नेताहरूले नैतिक धरातल गुमाएपछि हुने नै यही हो । उनीहरू इमानदार, नैतिकवान् तथा सच्चरित्रवान् भइदिएका भए कसैसँग पनि डराउनुपर्ने थिएन । नेताले गल्ती नै गर्दैनन् भन्ने होइन । तर, नागरिकका प्रश्नको सामना गर्ने र आफ्ना कमीकमजोरी या गल्ती सुधार्न तयार हुने नेता कहिल्यै कुनै पनि प्रश्नको सामना गर्न डराउँदैन र डराउनु पनि पर्दैन । तर, नैतिक धरातल गुमाएका नेतामा भने नागरिकका प्रश्नको सामना गर्ने हिम्मत नै हुँदैन ।