मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १५ आइतबार
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १५ आइतबार १o:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वीरका दुईतिरका भवन जोड्न महानगरले लिफ्टसहितको पुल बनाइदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १५ आइतबार १o:३७:oo

वीर अस्पतालको पुरानो र नयाँ भवनलाई जोड्ने गरी काठमाडौं महानगरपालिकाले लिफ्टसहितको अत्याधुनिक आकासेपुल निर्माण गर्ने भएको छ । दुई भवनका ओहोरदोहोर गर्दा बिरामी र उनीहरूका आफन्तलाई सास्ती भएपछि वीर अस्पताल प्रशासनले महानगरलाई पुल बनाइदिन अनुरोध गरेको थियो । सोही अनुरोधअनुसार आगामी पुस महिनादेखि महानगरले पुल बनाइदिन लागेको हो । पुल निर्माणबारे सर्वेक्षण भइसकेको र कन्सल्ट्यान्स हायर गर्ने प्रक्रिया अघि बढेको महानगरका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिए । ‘यसबारेमा अध्ययन गरेर सकाइसकेका छौँ, अब यसको कन्सल्ट्यान्ट हायर गर्ने प्रक्रिया अघि बढ्दै छ,’ उनले भने, ‘आउँदो पुसबाट काम सुरु हुन्छ, यो योजनाका लागि हामीले बजेट पनि विनियोजन गरिसकेका छौँ ।’ 

वीर अस्पतालको नयाँ अर्थात् सर्जिकल भवन पुरानोको सामुन्ने सडक पारी छ । दुई भवनबिचमा सडक रहेको हुँदा बिरामीलाई जोखिम र असहज हुुँदै आइरहेको भन्दै वीरले पुल बनाइदिन प्रस्ताव गरेको थियो । दुई भवनबिचको दूरी करिब ७० मिटरको छ । अधिकांश टिकट काउन्टर र वार्ड पुरानो भवनमा छ भने सर्जिकलसम्बन्धी उपचार सेवा नयाँ भवनमा हुन्छ । पुरानो भवनमा टिकटदेखि क्यास काउन्टर, इमर्जेन्सी, ल्याब, ओपिडी, माइनर अपरेसनलगायत सेवासमेत छन् ।

यसकारण पनि वीरका बिरामीले दुवै भवनमा ओहोरदोहोर नगरी सुखै छैन । महानगरका अनुसार पुल निर्माणमा झन्डै साढे चार करोड लाग्ने अनुमान छ । उक्त पुल बनाउन महानगरले चालू आर्थिक वर्षको बजेटमा समेत समावेश गरेको छ । वारपार गर्न पुल बनाएर बिरामीलाई तल्लो तथा माथिल्लो तलामा ओहोरदोहोर गर्न लिफ्टसमेत जडान गरिनेछ । पुल नयाँ भवनको दोस्रो तलाबाट पुरानो भवनको दोस्रो तलामा जोडिनेछ । त्यसमा पनि लिफ्ट जडान गरिनेछ । अन्डरग्राउन्डबाट ओहोरदोहोर गर्ने बाटो खोल्दा धेरै लागत लाग्ने भएपछि बाहिरबाट पुल र लिफ्ट राख्न लागिएको हो ।