
उदयपुरमा किसानलाई युरिया मल अभाव भइरहेको समयमा कटारी नगरपालिकाको कटारी बजारबाट लुकाइएको दुई सय बोरा मल जफत गरिएको छ। जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन टोलीले अनुगमनका क्रममा लुकाइएको अवस्थामा फेला परेको दुई सय बोरा युरिया मल बिहीबार जफत गरेको हो।
बजार अनुगमनका संयोजक उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयका अनुसार कटारी नगरपालिका–४, कटारी बजारमा रहेको दिलीप चौधरीको अशुतोष ट्रेडर्स तथा जनल स्टोर र जय माँ काली प्रालिबाट लुकाइएको अवस्थामा युरिया मल जफत गरिएको हो।
उनले भने, ‘कोक, डिउलगायतका पेयपदार्थलगायत अन्य उपभोग्य वस्तुहरूले छोपेर लुकाइएको अवस्थामा युरिया मल फेला परेको हो। सरकारी अनुदानबाट किसानलाई दिइएको मल एउटा व्यापारीको गोदाममा फेला परेको छ। छानबिन गर्ने गरी नगरपालिका र प्रहरीको जिम्मामा गोदाम सिल गरेका छौँ।’
पाण्डेयले जफत गरिएको युरिया मलको बारेमा कृषि सामग्री लिमिटेड गाईघाटदेखि नै अनुसन्धान गरेर छानबिन गर्नुपर्ने वेला आएको बताए। उनले भने, ‘गाउँमा किसानले मल नपाएको गुनासो व्यापक छ। तर, यता व्यापारीको गोदामबाट दोब्बर मूल्यमा बिक्री गरेको पाएका छौँ।’
चौधरीले सहकारीबाट झन्डै आठ सय रुपैयाँ प्रतिबोरामा पाउने युरिया मल एक हजार तीन सयसम्म बिक्री गर्ने गरेको पाइएको पनि अनुगमन टोलीले जानकारी दिएको छ। सहायक प्रजिअ पाण्डेयले भने, ‘मल कहाँबाट आएको हो? यसमा कसको मिलेमतो छ भन्नेबारे आवश्यक छानबिन र कारबाही हुन्छ।’
पाण्डेयले कटारी बजारमा रहेका जम्मा २९ वटा पसलमा अनुगमन गर्दा तीनवटा पसल अवैधानिक भेटिएकाले बन्द गरेको तथा तीनवटालाई जनही पाँच हजारका दरले जरिवाना गरेको पनि जानकारी दिए।