
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय आयातमा लगाएको ५० प्रतिशत भन्सार शुल्क बुधबारदेखि लागू भएको छ । अमेरिकाले पहिलोपटक जुलाई ३० मा भारतमा २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो । त्यसको एक हप्तापछि रुसी तेल खरिद गरेको भन्दै थप २५ प्रतिशत शुल्क तोकियो । कठोर भन्सार दरले भारतलाई प्रमुख उत्पादन केन्द्रमा रूपान्तरण गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक महत्वाकांक्षालाई कमजोर पार्न सक्छ ।
गत वर्ष अमेरिका भारतको सबैभन्दा ठुलो व्यापारिक साझेदार थियो । सो वर्ष द्विपक्षीय व्यापार २१२ अर्ब डलर थियो, जसमा भारतले करिब १२९ अर्बको उत्पादन अमेरिका निर्यात गरेको थियो भने ८३ अर्बबराबरको अमेरिकी उत्पादन आयात गरेको थियो ।
कुन क्षेत्र सबैभन्दा बढी प्रभावित हुनेछन् ?
नयाँदिल्लीस्थित थिंक ट्यांक ‘ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जिटिआरआई)’ले ‘द फाइनान्सियल टाइम्स’ पत्रिकालाई बताएअनुसार पछिल्लो भन्सार शूल्कका कारण अमेरिकामा हुने भारतीय निर्यात यस वर्ष घटेर लगभग ५० अर्ब डलरमा पुग्न सक्छ ।
जिटिआरआईका अनुसार भारतका कपडा, रत्न तथा गहना, माछा, छालाका सामान, कार्पेट, जुत्ता र फर्निचरदेखि लिएर औद्योगिक रसायन निर्माता सबैभन्दा बढी प्रभावित हुनेछन् । यी क्षेत्रको निर्यातमा ७० प्रतिशतसम्म गिरावट हुने प्रक्षेपण छ । यसले ‘लाखौँ रोजगारीलाई खतरामा पार्ने’ चेतावनी दिइएको छ ।
‘अमेरिकाका लागि भारत ठुलो व्यापारिक साझेदार होइन, जबकि भारतका लागि भने अमेरिका सबैभन्दा ठुलो व्यापारिक साझेदार हो,’ द वायर समाचार साइटका संस्थापक सम्पादक एमके भेनुले भने, ‘पछिल्लो भन्सार शुल्कका कारण मुख्यत: बढी श्रम प्रयोग हुने तथा साना कम्पनी बढी प्रभावित बन्नेछन् । कतिपय त बजारमै टिक्न नसक्ने अवस्था आउन सक्छ ।’
शुल्कबाट प्रभावित हुने क्षेत्रको माग न्यून अमेरिकी भन्सार शुल्क रहेका भियतनाम, बंगलादेश र पाकिस्तान र अन्य पूर्वी एसियाली अर्थतन्त्रमा सर्न सक्ने पनि भेनुले बताए ।
भन्सारको प्रभाव कम गर्न भारत सरकारले के गर्दै छ ?
प्रधानमन्त्री मोदीले शुल्कवृद्धिबारे बोल्दै देशका किसानको संरक्षण गर्ने, कर कटौती गर्ने र आत्मनिर्भरताका लागि जोड दिने वाचा गरेका छन् । वर्षको सुरुमा घोषणा गरिएको १२ अर्ब डलरको आयकर छुटका अतिरिक्त, भारतीय प्रधानमन्त्रीले चाँडै व्यवसायलक्षित ‘ठुलो कर लाभ’योजना ल्याउन सक्ने चर्चा छ ।
त्यस्तै, नयाँदिल्लीले ‘गुड्स एन्ड सर्भिस ट्याक्स (जिएसटी)’ कर घटाउने र सरल बनाउने योजना बनाइरहेको पनि समाचार आइरहेको छ । त्यसबाहेक अर्को वर्षको प्रारम्भदेखि लागू हुने करिब ५० लाख कर्मचारी र ६८ लाख पेन्सनधारकको तलबवृद्धिसँगै उपभोग बढ्ने र भारतको अर्थतन्त्रलाई केही वृद्धि हुने आशा गरिएको छ ।
नयाँदिल्लीमा रहेको ‘फोर स्कुल अफ म्यानेजमेन्ट’का भूराजनीतिशास्त्रका प्राध्यापक फैसल अहमदका अनुसार अमेरिकी भन्सार शुल्कले भारतको कुल गार्हस्थ उत्पादनमा उल्लेखनीय प्रभाव पर्दैन । यसको असर करिब एक प्रतिशतमा सीमित हुने उनको ठम्याइ छ ।
यही कुरामा निर्मल बैंककी प्रमुख अर्थशास्त्री टेरेसा जोनले पनि सहमत जनाइन् । उनले पनि करिब ३६ अर्ब डलर अर्थात् जिडिपीको ०.९ प्रतिशतको नकारात्मक प्रभाव अनुमान गरिन् । वर्षको सुरुमा अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२६ मा भारतको अर्थतन्त्र ६.४ प्रतिशतले बढ्ने अनुमान गरेको थियो । अमेरिकी भन्सार शुल्कले त्यो परिवर्तन हुन सक्छ ।
उच्च अमेरिकी भन्सार शुल्कको निरन्तर खतराका बाबजुद भारतले रुसी कच्चा तेल किन्न जारी राखेको छ । तथापि, खरिद दर भने घटिरहेको छ । नयाँदिल्लीले वासिंटनलाई रुसी तेल किन्ने विषयमा आफूलाई फरक व्यवहार गरेको आरोप पनि लगाएको छ । उसका अनुसार युरोपेली संघ र चीन दुवैले रुसी तेल खरिद गर्दै आएका छन् । तर, उनीहरूमाथि तेल खरिदकै कारण अलग भन्सार शुल्क लगाइएको छैन ।
कुन क्षेत्रलाई छुट दिइनेछ ?
भारतीय औषधि निर्माण क्षेत्रले भने अमेरिकी भन्सार शुल्कमा छुट पाएको छ । अमेरिका आयात गर्ने जेनेरिक औषधिको लगभग आधा हिस्सा भारतबाट अउने गरेको छ । भन्सार लगाइए औषधोपचार महँगिने डरले तत्काल सो क्षेत्रलाई छुट दिइएको हो । सेमिकन्डक्टर र इलेक्ट्रोनिक्स सामानलाई भने अलग क्षेत्र–केन्द्रित भन्सार दरले समेट्छ ।
अलजजिराबाट