मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 27 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:oo:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सर्वोच्चले भन्यो– पशुपतिका नागाबाबालाई अश्लील भन्न मिल्दैन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:oo:oo

महाशिवरात्रिमा नागा साधु आउनु सनातन अभ्यास र परम्परा रहेको भन्दै सर्वोच्च अदालतले यसलाई रोक्न नमिल्ने जनाएको छ । सर्वोच्चको संयुक्त इजलासले यज्ञमणि न्यौपानेको रिटउपर यस्तो व्याख्या गरेको हो । 

‘नागा साधुहरू निर्वस्त्र रहनुलाई उनीहरूको धार्मिक आस्था र परम्पराको अभिन्न अंगका रूपमा रहेको र शरीरमा खरानी लेपन गर्ने, निर्वस्त्र रहने तथा शिवालय आदि विभिन्न धार्मिक स्थलहरूमा विशेष अवसरहरूमा निर्वस्त्र देखापर्नुलाई उनीहरूको पहिचान र धार्मिक अभ्यासको अभिव्यक्तिका रूपमा लिनुपर्ने देखियो,’ फैसलामा भनिएको छ । 

न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, पर्यटन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष, महानगरीय प्रहरी, काठमाडौं महानगरपालिकालगायतलाई विपक्षी बनाई रिट दर्ता गराएका थिए । जसमाथि न्यायाधीशहरू कुमार चुडाल र नहकुल सुवेदीको इजलासले रिट खारेज गर्दै यस्तो आदेश गरेको हो । गत वर्ष २७ भदौमै भएको फैसला मंगलबार सार्वजनिक भएको हो ।

शैव सम्प्रदायभित्र पनि अत्यन्त न्यून संख्यामा रहेका नागा साधुहरूलाई शिवालय आदिमा निषेध गर्नु धार्मिक अल्पसंख्यकप्रति भेदभावजन्य व्यवहार हुने र उनीहरुको धार्मिक परम्परागत अभ्यासमा हस्तक्षेप हुन जाने ठहर सर्वोच्चको छ । ‘अन्य धार्मिक सम्प्रदायहरूको जस्तै नागा साधु/सम्प्रदायको पनि आफ्नै विशिष्ट नियम र अभ्यास देखिएको स्थितिमा महाशिवरात्रिजस्तो भगवान् शिवको आराधना गर्ने विशिष्ट पर्वमा निजहरूलाई पशुपतिनाथको मन्दिर प्रांगणमा निषेध गर्नु यससम्बन्धी आस्था, विश्वास र सनातन परम्परासमेतको विपरीत हुने देखियो,’ फैसलामा भनिएको छ ।

सर्वाेच्चले नग्नता र अश्लीलता फरक रहेकाले सबै नग्नतालाई अश्लीलता मान्न नमिल्ने फैसलामा उल्लेख गरेको छ । अभिव्यक्तिको सन्दर्भ, उद्देश्य, सामाजिक स्वीकार्यता तथा कानुनी व्यवस्थालगायतका परिप्रेक्ष्यमा अश्लीलताको परिभाषा हुनुपर्ने भन्दै उक्त इजलासले यसलाई सापेक्ष मानेको छ । ‘एउटै कामकारबाही वा आचरण कुनै समय, समाज वा सन्दर्भमा श्लील र अर्को समय, समाज वा सन्दर्भमा अश्लील मानिने वा कायम हुन जाने अवस्थासमेत हुने भएकाले केवल शारीरिक रूपमा नांगो हुनुलाई मात्र अश्लीलताको प्रदर्शन भन्न मिल्ने देखिएन,’ फैसलाको प्रकरण नं. ३४ मा छ । 

पशुपतिनाथपरिसरमा नागा साधुहरू नांगै बस्नुको उद्देश्य दर्शनार्थीको कामोत्तेजना बढाउने वा कामवासनामा आशक्त गराउने वा श्रद्धालुको सोच भ्रष्ट तथा चरित्रहीन गराउने नभई सनातन अभ्यास र परम्पराअनुसार पशुपतिनाथप्रतिको भक्ति, समर्पण र साधना रहेको ठहर इजलासको छ । यसबाट महिला, बालबालिकामाथि यौनहिंसा हुने रिटको दाबी स्वाभाविक तथा तर्कसंगत नभएको फैसलामा छ । यसरी सदियौँदेखि चल्दै आएको विशेष परम्परालाई सार्वजनिक नैतिकता तथा शिष्टाचारविपरीत र अश्लील मान्न नमिल्ने भन्दै निवेदकको मागबमोजिम आदेश दिन नमिल्ने फैसलामा छ । 

‘नागा सन्न्यासी साधुहरू शरीरमा कुनै वस्त्र धारण नगरी गोप्य अंगसमेत नछोपी शरीरभरि खरानी घसी अग्निको उपासना गरी धुनी जगाई बस्ने गरेको भन्ने विपक्षीहरूको लिखित जवाफबाट देखिए तापनि उक्त कृत्य सनातन धार्मिक अभ्यास र परम्पराबमोजिमको रहेको देखिएको र नागा साधुहरू मन्दिरपरिसरमा नांगै रहनुलाई सामाजिक र नैतिक स्वीकार्यताको दृष्टिले समेत अन्यथा नदेखिएको स्थितिमा निजहरूले अश्लीलताको प्रदर्शन गरेको भन्न मिलेन,’ फैसलामा छ । 

मेला व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषले नागा साधुका लागि निश्चित स्थान तोक्न सक्ने भए पनि मन्दिरपरिसरभित्र प्रवेश निषेध गर्न नमिल्ने सर्वोच्चको फैसलामा छ । यसो गर्दा सनातनदेखि चलिआएको परम्परामाथि हस्तक्षेप हुन जाने भन्दै सर्वोच्चले यो परम्परा रोक्न नमिल्ने ठहर गरेको हो । 

‘यसरी आउने साधुसन्त जोगी आदिनलाई सामान्य दक्षिणा दिई बिदाइ गर्नु हाम्रो धार्मिक र सामजिक संस्कार र परम्परासमेत भएको हुँदा सो परम्परासमेतलाई रोक्नुपर्ने भन्ने निवेदन जिकिरको पनि तर्कसम्मत आधार देखिएन,’ फैसलामा थप छ, ‘सो अवसरमा कसैले कानुनले निषेध गरेको कुनै कामकारबाही गरेमा कानुनबमोजिम कारबाही हुन नै सक्ने हुँदा नागा साधुहरूले कानुनविपरीतको कार्यसमेत गर्ने गरेका भनी निजहरूको प्रवेश निषेध गर्नुपर्नेसम्मको निवेदन मागबमोजिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन ।’