
बाराको कलैयामा पहिलोपटक हैजाका संक्रमित फेला परेका छन् । प्रादेशिक अस्पताल कलैयामा उपचाररत एक पुरुषमा हैजा संक्रमण पुष्टि भएपछि स्थानीयवासी त्रासित बनेका छन् ।
प्रादेशिक अस्पताल कलैयाका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. अजयकुमार गुप्ताका अनुसार कलैया उपमहानगरपालिका–१८ पतौराका करिब ३५ वर्षीय पुरुषमा हैजा संक्रमण पुष्टि भएको हो । ‘बिरामीलाई आइतबार राति आकस्मिक कक्षमा ल्याइएको थियो। पानीजस्तो पातलो पखाला र बान्ता भइरहेका कारण नमुना परीक्षण गर्दा हैजा पुष्टि भयो,’ डा. गुप्ताले भने। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि अस्पतालको विशेष निगरानीमा राखिएको छ।
संक्रमित पुरुष वीरगन्जस्थित एक निजी कम्पनीमा कार्यरत रहेको पारिवारिक स्रोतको भनाइ छ। उनको सम्पर्कमा आएका परिवारका सदस्य र सहकर्मीलाई समेत परीक्षणको दायरामा ल्याउन अस्पतालले तयारी थालेको छ।