
रवि लामिछाने मुछिएको पोखराको सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जन अदालतमा उपस्थित भएकै दिन छुटेका छन्। जिल्ला अदालत, कास्कीले उनलाई आइतबार १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। धरौटी बुझाएर उनी रिहा भएका छन्। जिल्ला न्यायाधीश शंकरकुमार राईको इजलाशले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
आइतबार नै उनको बयान सकाएर अदालतले थुनछेक आदेश दिएको हो । २०६३ सालमा ज्ञानबहादुरले आफैं अध्यक्ष भएर सो सहकारी खोलेका थिए।
ज्ञानबहादुर सो सहकारी ठगी प्रकरणका नाइके गिरेन्द्रबाबु राईका जेठान हुन्। सो सहकारी पछि उनले जिबीलाई जिम्मा लगाएका थिए । उनकै पालादेखि सहकारीमा हिनामिना सुरु भएको थियो । जिबी राई भने अझै फरार छन् । रवि लामिछाने जेल गएपछि उनको खोजीमा प्रहरीले चासो नराखेको सहकारी पीडितको आरोप छ।