मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ९ सोमबार
  • Monday, 25 August, 2025
मृतक बालक किरण कोली
२o८२ भदौ ९ सोमबार o७:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दलित बालकको मृत्यु प्रकरण : सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री पालमाथि छानबिन गर्न माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ९ सोमबार o७:४६:oo

बैतडीको डिलाशैनी गाउँपालिका–३ मा १४ वर्षीय बालक किरण कोलीका मृत्यु प्रकरणमा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पालको नाम मुछिएको छ । सामाजिक सञ्जालमा मन्त्रीको गाडीले किचेर मारेको र दलितमाथि जातीय विभेद गरेको भन्दै उनको आलोचना भइरहको छ । गिरीबगडस्थित चमेलिया नदीको छेउमा बिजुलीको लाइनमुनि अवैध रुपमा थुपारिएको बालुवामा चढ्दा करेन्ट लागेर गत १७ साउनमा किरणको मृत्यु भएको  थियो ।  

बालकको मृत्युको विषयलाई लिएर स्थानीयले गोकुलेश्वर–गन्ना सडक बन्द गरी आन्दोलन गरेका थिए । त्यसपछि मृतक परिवारसहित स्थानीय जनप्रतिनिधि र प्रहरीको उपस्थितिमा सडक खुलाइएको थियो । पीडित परिवारलाई पाँच लाख दिने सहमतिपछि बाटो खुलाइएको मृतकका बाजे हरिशचन्द्र कोलीले बताए । मृतक बालककी आमा राजमतीसहित पारिवारिक सल्लाहमै बाटो खुलाइएको उनको भनाइ छ । 

वडाध्यक्ष रघुवीर बोहराले पनि पीडित परिवारसँग सहमति गरेररै आफूहरूले रकम संकलन गरी जम्मा गरिदिएको बताए । तर मृतककी आमा राजमती कोलीले भने आफूसँग कुनै सल्लाह नभएको दाबी गरिन् । ‘छोराको मृत्यु भएपछि म अर्धचेत अवस्थामा थिएँ, पाँच लाख लिने कुरामा मेरो सहमति थिएन,’ उनले भनिन् । 

बालककी आमा राजमतीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन खोज्दा दर्ता नभएको बताइन् । उनले जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय पाटन पठाएको र त्यहाँ पनि दर्ता नभएपछि हुलाकबाट पठाएको जानकारी दिइन् । प्रहरीले जाहेरी दर्ता नगरेको र मन्त्री पालले प्रहरीलाई दबाब दिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका पालिका सभापति करणसिंह बोहराले १७ साउन र कांग्रेस पालिका सभापति जयानन्द जोशीले २७ साउनमा विज्ञप्ति जारी गरी घटनाको छानबिन गर्न माग गरेका थिए । उनीहरूले घटनामा मन्त्री पालको नामसमेत जोडेका थिए ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी निरीक्षक बलराम पाण्डेयले भने घटनास्थल इलाका प्रहरी कार्यालय पाटनको क्षेत्रमा पर्ने भएकाले त्यही जाहेरी दिन पठाएको बताए । इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउदले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘घटना भएकै दिनदेखि हामीले अनुसन्धान गरिरहेका छौ, पीडितहरूको जाहेरी हुलाकबाट प्राप्त भइसकेको छ,’ उनले भने । 

घटनामा मुछिएका मन्त्री पालले भने बालकको मृत्यु प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताए । उनले १७ साउनमा आफू घटनास्थलमा नभई मन्त्रालयकै काममा रहेको भन्दै सामाजिक सञ्जालमा मानमर्दन हुने गरी भएका टिप्पणीले दुःखित तुल्याएको बताए । ‘घटना भएको ठाउँको जमिन हाम्रो हो, त्यहाँ पहिलेदेखि नै निर्माण सामग्री जम्मा गरिएको थियो । बालुवा थुपार्नेे काम कामदारहरूले गरेका होलान्, तर मन्त्री आएर बालुवा थुपारेको भन्ने जस्तो कुरा गरिरहेका छन्, मेरो बालुवा थुपार्ने काम हो र ?’ उनले प्रश्न गरे । मन्त्री पालले केही स्थानीय व्यक्तिहरूले व्यक्तिगत रिसिइबीका कारणले आफूमाथि पीडितको परिवारलाई प्रयोग गरी सामाजिक सञ्जालमा गालीगलौज भइरहेको दाबी गरे । घटनालाई लिएर पीडित परिवार दुई कित्तामा बाँडिएको छ ।