मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपसभामुख हटाउने ओली–देउवाको योजनामा कांग्रेस महामन्त्री थापाको असन्तुष्टि

भने– बहुमतको निर्णय सधैँ सही हुँदैन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:१५:oo

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले ‘पदअनुकूल आचरण नगरेको प्रस्ताव’मा उपसभामुख इन्दिरा रानालाई हटाउन चलखेल गरेकोमा कांग्रेस महामन्त्री गगन थापाले असन्तुष्टि जनाएका छन् । ‘बहुमतको निर्णय सधैँ सही नहुने’ भन्दै महामन्त्री थापाले ओली र देउवाको नामै नलिई उनीहरूको पछिल्लो प्रयासमाथि प्रश्न उठाएका हुन् ।

उपसभामुख हटाउने उद्देश्यसहित मंगलबार कांग्रेस–एमालेले आफ्ना सांसदहरूको खाली कागजमा हस्ताक्षर संकलन गरेको अर्को दिन महामन्त्री थापाले लोकतन्त्रमा सधैँभरि संख्याका आधारमा बहुमतले गर्ने निर्णय सही र मान्य नहुने टिप्पणी गरेका हुन् । उनले मंगलबार हस्ताक्षर पनि गरेका थिएनन् ।

‘हामी निर्वाचन जित्छौँ, मत प्राप्त गर्छौँ, सरकार बनाउँछौँ, त्यो संख्याकै आधारमा हुन्छ । लोकतन्त्रमा संख्याको आधारमा निर्णयहरू गर्न पाइन्छ । हिजो पनि गरेका छौँ, भोलि पनि गरौँला । तर, मसँग संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन,’ बुधबार काठमाडौंमा आयोजित नन्दप्रसाद शिवाकोटीको स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘संख्याका आधारमा गरिने निर्णय वैधानिक हुन्छन् । संख्या भएपछि सरकार बन्छ, पार्टी र संसद्मा जे पनि होला । तर, बहुमत वैधानिक भए पनि आमपार्टी सदस्यले निर्णय स्विकार्छन् कि स्विकार्दैनन् भनेर पनि हेर्नुपर्ने हुन्छ ।’

महामन्त्री थापाले कांग्रेसले आधारभूत मूल्य–मान्यता र सिद्धान्त नै त्यागेर सत्ता प्राप्तिका लागि सम्झौता गर्ने वा सत्तामा टिकिरहने कुरा प्राथमिक विषय नभएकोसमेत प्रस्ट्याए । ‘कांग्रेसले चुनाव लड्छ, जित्न कोसिस गर्छ, सत्तामा जान्छ, शक्तिको अभ्यास गर्छ, हामी त्यो कुरामा विश्वास गर्छौँ । त्यसैले हाम्रा लागि चुनाव महत्वपूर्ण हो, चुनाव जित्ने इच्छा राख्नु स्वाभाविक हो,’ उनले भने, ‘तर, त्यही नै सबैथोक होइन । सत्ता र शक्तिमा पुग्ने पनि ससर्त हो, नि:सर्त होइन । हाम्रा आधारभूत मूल्य र मान्यता छन् । तीसँग सम्झौता गर्नुपर्‍यो भने त्यसरी प्राप्त भएको सत्ताको कुनै अर्थ हुँदैन ।’