
प्रधानमन्त्री केपी ओली १४ भदौमा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) शिखर सम्मेलनका लागि चीन जाँदै छन्, जहाँ उनको चिनियाँ राष्ट्रपति सी जिङफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेट तय भएको छ । परराष्ट्र स्रोतका अनुसार चीनको तियान्जिन सहरमा ओली र मोदीबिच भेट हुने पक्का भइसकेको छ ।
यस्तै, १८ भदौमा ओली र चिनियाँ राष्ट्रपति सीबिच भेट तय भएको छ । लिपुलेकको विषय प्राथमिकता साथ उठाउन प्रधानमन्त्री ओलीका लागि यी भेट उपयुक्त अवसर हुन् । परराष्ट्र मामिलाका विज्ञहरूको पनि सुझाव छ– एससिओको शिखर सम्मेलनमा चीन जाँदा प्रधानमन्त्रीले दुवै देशका शीर्ष नेतासँगको भेटमा यो मुद्दा उठाउनुपर्छ ।
त्यसलगत्तै प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाँदै छन् । यो भ्रमणमा पनि ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
यसअघि १ जेठ ०७१ मा पनि भारत र चीनले लिपुलेकलाई व्यापारिक मार्गका रूपमा अघि बढाउने सहमति गरेका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री मोदीलाई फोन गर्दै ‘नेपालको लिपुलेकबारे चीनसँग कसरी तपाईंहरूको सहमति भयो’ भनेर प्रश्न गरेका थिए । सरकारले चीन सरकारलाई पनि त्यसवेला विरोधपत्र पठाएको थियो ।