
कैलाश मानसरोवरसँग जोडिएको बाजुराको कोल्टीमा अवस्थित पादुका त्रिवेणी धाम सुदूरपश्चिमकै मुख्य धार्मिक तथा पर्यटकीय गन्तव्यमध्येको एक हो। स्वामी-कार्तिक खापर गाउँपालिकाको देउरा र जगन्नाथ गाउँपालिकाको पिलुचौरको संगम क्षेत्र पादुका त्रिवेणी धाम बाजुरा जिल्लाको मात्र नभई सुदूर तथा कर्णाली प्रदेशको हुम्ला, मुगु, कालिकोट जुम्लालगायत जिल्लाका मानिसको आस्थाको केन्द्र मानिन्छ।
यस क्षेत्रमा पादुकाको जललाई हिन्दु धर्मका सोह्र संस्कारमा पवित्र जल मानेर प्रयोग गर्ने चलन छ। पादुका त्रिवेणी धामलाई बुढीनन्दा तालबाट निस्केको बड्डिगाड नदी, कर्णाली नदी र मानसरोवरबाट गुप्त रूपबाट निस्केको पानीको संगमस्थल मानिन्छ। वर्षको तीनपटक मेला लाग्ने यहाँ दैनिक बिहान बेलुका पूजाआराधना चल्छ। पादुका धाममा पादुका, बुढीनन्दा, बडीमालिका र नवदुर्गाको विशेष पूजा हुने गर्छ। पादुका धामभित्र राधा-कृष्ण मन्दिर, शिव मन्दिर, दुर्गा, नवग्रह, कर्म काण्ड र १०८ शिवलिंग रहेका छन्।
पादुका धाममा पूजाआजा गर्नु कैलाश मानसरोवरमा पूजा गरेबरावर हुने विश्वास रहेको पादुका त्रिवेणी धामका पुजारी मष्टीप्रसाद उपाध्याय बताउँछन्। मानसरोवर नुहाएपछि पादुकामा पनि एकपटक नुहाउनै पर्ने बताइन्छ। पादुकामा सिद्धेश्वर महादेवको उत्पति भएको हुँदा पुजा गर्ने भक्तले सोचेको कुरा पूरा हुन्छ भन्ने जनविश्वास छ।
किंवदन्ती अनुसार महादेवले सतीदेवीको शव बोकेर हिँड्ने क्रममा यहाँ सतीदेवीको पाउ खसेको हुनाले पादुका नाम रहन गएको हो। द्वापर युगमा पाण्डवले मानसरोवर यात्रा गर्दा यसै पादुकामा बास बसेर निर्माण गरेको मानिने मन्दिरबारे शिलापत्रमा लेखेको हेर्न सकिन्छ। यहाँ एउटा पिपलको बोट छ, जुन पाँच हजार १८६ वर्ष पुरानो रहेको स्थानीय दाबी छ। पाण्डवका बुवा पाण्डुको मृत्युपछी उनको सम्झनामा पाण्डवले सो पिपलको बोट रोपेको किंवदन्ती प्रचलित छ। पादुका त्रिवेणी धाममा जगनाथ र चन्द्रनाथ खापर देवताको शिम्भुनाथ कैलाश, लाटो बाहुन, जरणी कैलाश, भवानी माणु, मस्टो देविदेउताका मठमन्दिरहरू पनि छन्।
पादुका त्रिवेणी धामको पुरानो मन्दिरमा शिवलिङ्ग, विष्णुको पाउ र गाईको टीका चिह्न शिलाहरू छन्। शिवको क्रिडास्थल, विष्णुले वास गरेको ठाउँ र पाँच पाण्डवले तपस्या गरेको स्थलका रूपमा पुजिन्छ। कर्णालीको देउलीकोट डाँडामा पुगेर टुङ्गिएको स्थान नै पादुका धाम हो। देउलीकोट डाँडा कतै नछुट्टिएर सिधै मानसरोवर तालसम्मै पुगेको छ भनिन्छ। त्यसैले मानसरोवर तालको जल गुप्तमार्ग (महानन्दा नदी)बाट पादुका कर्णालीमा मिसिन्छ भनिन्छ। मानसरोवरको जल मिसिएको ठाउँमा कर्णालीको पानी भुलभुल गरेको देख्न सकिन्छ।
गौरी पर्वत बुढीनन्दाबाट आएकी बड्डिगाड, बर्तुला खुल्मी गाड, लम्बसिमा धुपा गाड, पादुकामा आएर कर्णालीमा मिसिएकी हुँदा त्यसै त्रिवेणीमा सूर्य पुत्र कर्ण नुहाएर इन्द्रप्रस्थ गएका किंवदन्ती छ। कर्णले सूर्यदेवको प्रार्थना गरी वरदान स्वरूप मानसरोवरको जल गुप्त मार्गबाट पादुकामा मिसाएपछि सिद्धगणहरूले कर्णाली भनेर नामकरण गरेका हुन् भनिन्छ। पादुकाभन्दा माथि हुम्लागाड, मुगुगाड, गल्बागाड, कवाणी गाडसहित विभिन्न ‘गाड’ अर्थात नदीहरू आएर कर्णालीमा मिसिएका छन्। स्थानीय कथनअनुसार मानसरोवरको जल अलिकुट पर्वत अर्थात् देउलीकोट डाँडाको बाटो भएर पादुकामा मिसिएको र सूर्य पुत्र कर्णले नुहाएको हुनाले पादुकाबाटै ‘कर्नाली’ नाम रहेको हो।
पादुका धाममा आन्तरिक र बाह्य गरी वार्षिक १० हजारभन्दा बढी पर्यटक आउने मन्दिरका पुजारी मष्टप्रसाद जैशीले बताए। तर पनि स्थानीय, प्रदेश र संघ सरकारबाट हालसम्म मन्दिरले कुनै सहयोग नपाएको उनको गुनासो छ। यहाँको १०८ शिव लिंग र राधाकृष्णको मन्दिर दर्शनाथीले दिएको दान दक्षिणा र सहयोगबाट बनेको हो। मन्दिर निर्माणका लागि स्थानीय सरकारलाई पटकपटक आग्रह गर्दा पनि कसैले वास्ता नगरेको उनको भनाइ छ।